समाचार सुन्नुहोस :
काठमाडौँ – राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले गृहमन्त्रीलाई लक्षित गर्दै, “तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर?” भन्दै प्रश्न उठाए।
गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर सांसद शाहीले गृहमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनले गृहमन्त्रीले प्रभावकारी उद्धार र उपचार व्यवस्थाभन्दा प्रचारमुखी गतिविधिमा बढी ध्यान दिएको आरोप लगाए। शाहीका अनुसार गृहमन्त्री विभिन्न स्थानमा सञ्चारमाध्यम र क्यामराको उपस्थितिमा सक्रिय देखिए पनि समयमै आवश्यक उपचारको व्यवस्था गरिएको भए गणेश नेपालीको ज्यान जोगिन सक्ने अवस्था रहेको थियो।
उनले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा हुनुपर्ने भन्दै प्रचार वा सामाजिक सञ्जालका लागि सामग्री तयार पार्नु मुख्य विषय हुन नसक्ने बताए। आवश्यक परे सुविधा सम्पन्न अस्पतालमा वा एयर एम्बुलेन्समार्फत दिल्लीसम्म उपचारका लागि पठाउने व्यवस्था गर्न सकिने उनको भनाइ थियो।








