टोकियो – दिउँसोको अधिकतम तापक्रम २७.१ डिग्री सेल्सियस नाघ्नासाथ ‘हिटस्ट्रोक’ (लू लाग्ने समस्या) का कारण ज्यान जाने जोखिम बढ्ने एक पछिल्लो अध्ययनले देखाएको छ । टोकियो महानगरपालिका र टोकियो विश्वविद्यालयद्वारा संयुक्त रूपमा गरिएको यस अनुसन्धानले गर्मी बढ्दै जाँदा एयर कन्डिसनर (एसी) को सक्रिय प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
टोकियो मेडिकल एक्जामिनरको कार्यालय र विश्वविद्यालयको ग्राजुएट स्कूलले सन् २०१३ को जनवरीदेखि २०२३ को सेप्टेम्बरसम्म टोकियोका २३ वटा वार्डहरूमा हिटस्ट्रोकका कारण मृत्यु भएका १,४४७ जनाको तथ्याङ्कलाई सुक्ष्म विश्लेषण गरेका थिए । अनुसन्धानका क्रममा मृत्यु हुँदाको मौसम, तापक्रम र घरमा एसीको उपलब्धता जस्ता पक्षहरूलाई केलाइएको थियो ।
अध्ययनअनुसार जब तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि पुग्छ, एसी प्रयोग नगर्ने मानिसहरूको मृत्यु हुने जोखिम एसी प्रयोग गर्नेहरूको तुलनामा दोब्बरभन्दा बढी हुन्छ । यसले गर्मीबाट बच्न आधुनिक शीतलीकरण यन्त्रहरूको भूमिका कति महत्त्वपूर्ण छ भन्ने पुष्टि गरेको छ ।
अध्ययनले फेला पारेको अर्को गम्भीर तथ्य के हो भने, तापक्रम ३१ डिग्री नाघेपछि गर्मीको प्रभाव शरीरमा तत्काल मात्र नभएर ४ देखि ५ दिनसम्म कायम रहन्छ । यसको अर्थ, प्रचण्ड गर्मी भएको केही दिनपछिसम्म पनि हिटस्ट्रोकका कारण ज्यान जाने खतरा उच्च रहिरहन्छ, त्यसैले तापक्रम केही घटे पनि सतर्कता अपनाउनु आवश्यक हुन्छ ।
घरभित्रै हिटस्ट्रोकले ज्यान गुमाएकामध्ये १६.४ प्रतिशत घटनामा एसीको उचित वा प्रभावकारी प्रयोग नभएको पाइएको छ । यसमा विशेषगरी एसीको भेन्टमा धुलो जमेर हावा राम्रोसँग नआउनु, तापक्रमको सेटिङ गलत हुनु वा मेसिनमा प्राविधिक त्रुटि हुनु जस्ता कारणहरू देखिएका छन् ।
गर्मीको मौसम उत्कर्षमा पुग्दै गर्दा अनुसन्धान टोलीले केवल एसी जडान गर्नु मात्र पर्याप्त नभएको र यसलाई सही ढङ्गले सञ्चालन गर्न तथा नियमित मर्मतमा ध्यान दिन सुझाएको छ । विशेष गरी वृद्धवृद्धा र बालबालिकाहरूको हकमा घरभित्रको तापक्रम सन्तुलनमा राख्न विज्ञहरूको विशेष सुझाव छ ।








