Deneme Bonusu Veren Siteler
शनिबार, असार २७, २०८३
Saturday, July 11, 2026

टोकियो – विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ जापानको राजधानी टोकियोमा पहिलो पटक ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको छ । नेपाल पत्रकार महासंघ (एफएनजे) जापान शाखाको आयोजनामा यहि जुलाई २५ तारिखमा यो ऐतिहासिक सम्मेलन हुन लागेको हो ।

प्रवासमा रहेका सञ्चारकर्मी, मिडिया विज्ञ र डिजिटल मिडियाका प्रतिनिधिहरूबीच अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ यो एकदिने विश्व भेला तय गरिएको हो । सम्मेलनमा सहभागी हुन नेपालबाट पत्रकार महासंघको उच्च नेतृत्वसहितको टोली जापान आउँदैछ । एफएनजे जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठका अनुसार सम्मेलनका लागि महासंघको केन्द्रीय कार्यसमितिका ३३ जना प्रतिनिधिको भिसा स्वीकृत भइसकेको छ भने अन्य सञ्चारकर्मीहरूको भिसा प्रक्रिया अगाडि बढिरहेको छ ।

विश्व सम्मेलनमा आधुनिक पत्रकारिताका चुनौती र अवसरका विषयमा गम्भीर मन्थन हुनेछ । विशेषगरी डिजिटल पत्रकारिताको विकास, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र प्रभाव, सामाजिक सञ्जाल र मिडियाबीचको सम्बन्ध तथा प्रेस स्वतन्त्रताका विषयमा विज्ञहरूसहितको प्यानल छलफल हुनेछ ।

यसका अतिरिक्त, प्रवासमा रहेर नेपाली पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूका चुनौती र अवसरका विषयमा पनि मिहीन रूपमा छलफल हुनेछ । विशेष चासोको रूपमा हेरिएको ‘प्रवासी नेपाली पत्रकारहरूलाई नेपाल पत्रकार महासंघको निर्वाचनमा मताधिकार दिने’ एजेन्डाले यस सम्मेलनमा उच्च प्राथमिकता पाउने आयोजकले जनाएको छ ।

विविध विषयमा घनिभूत छलफल र अन्तरक्रिया पश्चात्, सम्मेलनले नेपाली पत्रकारिताको भावी अन्तर्राष्ट्रिय दिशा तय गर्दै अन्तमा ‘टोकियो घोषणापत्र’ जारी गर्ने तयारी रहेको पत्रकार महासंघ जापान शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया