टोकियो – जापानमा महँगी र जनशक्ति अभावका कारण कलकारखाना तथा व्यवसाय बन्द हुने क्रम तीव्र बनेको छ । सन् २०२६ को पहिलो ६ महिनामा मात्रै ५ हजारभन्दा बढी व्यावसायिक प्रतिष्ठानहरू टाट पल्टिएका छन्, जुन विगत १२ वर्षयताकै उच्च तथ्यांक हो ।
एक प्रतिष्ठित क्रेडिट अनुसन्धान संस्था ‘टोकियो शोको रिसर्च’ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सन् २०२६ को जनवरीदेखि जुनसम्मको अवधिमा कम्तीमा १० मिलियन येन ऋण भएका ५ हजार ३४६ कम्पनीहरू टाट पल्टिएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ७ दशमलव १ प्रतिशतले बढी हो ।
अनुसन्धान संस्थाका अनुसार जापानी मुद्रा ‘येन’को लगातारको अवमूल्यनले आयातित वस्तुहरूको मूल्य बढाउँदा मुद्रास्फीति तीव्र भएको छ । यसको प्रत्यक्ष मार साना तथा मझौला उद्योगहरूमा परेको छ । मूल्यवृद्धिका कारण मात्रै टाट पल्टिने कम्पनीहरूको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २७ दशमलव ६ प्रतिशतले बढेर ४३९ पुगेको छ ।
जापानमा जनशक्ति अभाव एउटा गम्भीर प्रतिकूल परिस्थितिका रूपमा देखा परेको छ । श्रमिक नपाएर वा भएकै श्रमिकलाई बढी तलब खुवाउन नसकेर व्यवसाय बन्द गर्नेहरूको सङ्ख्या ३७ दशमलव ७ प्रतिशतले बढेर २३७ पुगेको छ। त्यसमा पनि पारिश्रमिक लागत वृद्धिकै कारण टाट पल्टिने घटनामा २ दशमलव ४ गुणाको उछाल देखिएको छ ।
तथ्यांकअनुसार टाट पल्टिएका कुल कम्पनीमध्ये ९० प्रतिशत त १० जनाभन्दा कम कर्मचारी भएका साना व्यवसायहरू छन् । ८० प्रतिशत कम्पनीहरूको ऋण दायित्व १०० मिलियन येनभन्दा कम रहेको पाइएको छ । यसले जापानी अर्थतन्त्रको जग मानिने साना व्यवसायहरू यतिबेला सबैभन्दा कमजोर अवस्थामा छन् भन्ने संकेत गर्छ ।
१० मध्ये ८ औद्योगिक क्षेत्रमा गिरावट देखिएको छ । सेवा क्षेत्रमा सबैभन्दा बढी १ हजार ८१९ वटा र निर्माण क्षेत्रमा १ हजार २६ वटा कम्पनीहरू बन्द भएका छन् । उपभोक्ताहरूले खर्च कटौती गर्न थालेपछि रेस्टुरेन्ट र खाद्य खुद्रा विक्रेताहरूले बढ्दो लागतको भार ग्राहकलाई सार्न नसक्दा व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेका हुन् ।
क्षेत्रगत रूपमा मध्य जापानको होकुरिकुमा सबैभन्दा बढी ३७ दशमलव ३ प्रतिशत र उत्तरी हक्काइडोमा १७ दशमलव १ प्रतिशतले व्यावसायिक असफलता बढेको छ ।
अनुसन्धान संस्थाका अधिकारीहरूले आगामी दिनहरू अझै चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएका छन् । मध्यपूर्वमा जारी तनावले कम्पनीहरूको नगद प्रवाहमा असर पार्न थालेको छ । ‘आगामी शरद ऋतुदेखि व्यवसाय बन्द हुने गति अझै तीव्र हुन सक्छ,’ प्रतिवेदनमा भनिएको छ ।
जुन महिनामा मात्रै १ हजार २१ कम्पनीहरू टाट पल्टिएका छन्, जुन विगत २५ महिनामा पहिलोपटक एकै महिनामा १,००० को सीमा नाघेको रेकर्ड हो ।








