टोकियो – जापानमा महँगी समायोजन पछिको ‘वास्तविक तलब’ मे महिनामा लगातार पाँचौँ महिना पनि बढेको छ । मुख्यतया आधारभूत तलबमा भएको उल्लेख्य वृद्धिका कारण श्रमिकहरूको वास्तविक क्रयशक्तिमा सुधार देखिएको हो ।
जापानको श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार, गत वर्षको मे महिनाको तुलनामा यस वर्ष वास्तविक तलब १.४ प्रतिशतले वृद्धि भएको छ । पाँच वा सोभन्दा बढी कर्मचारी भएका देशभरका ३० हजारभन्दा बढी व्यावसायिक प्रतिष्ठानहरूमा गरिएको सर्वेक्षणले यो सकारात्मक नतिजा देखाएको हो ।
तथ्याङ्कअनुसार आधारभूत तलब र ओभरटाइमसहित एक श्रमिकको औसत मासिक पारिश्रमिक ३ लाख ११ हजार १६५ येन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३.२ प्रतिशतको वृद्धि हो । जापानमा श्रमिकको कुल नगद आम्दानी बढेको यो लगातार ५३औँ महिना हो ।
विशेष गरी ‘आधारभूत तलब’मा उत्साहजनक सुधार देखिएको छ । मे महिनामा आधारभूत तलब ३ प्रतिशतले बढेर २ लाख ७५ हजार ९४२ येन पुगेको छ । विगत पाँच महिनादेखि आधारभूत तलबमा ३ प्रतिशत वा सोभन्दा बढीको वृद्धिदर निरन्तर कायम छ ।
श्रम मन्त्रालयका अनुसार यस वर्षको ‘सुन्तो’मा कम्पनीहरूले कर्मचारीको तलब बढाउन सहमति जनाएका कारण आधारभूत तलबमा ऐतिहासिक वृद्धि सम्भव भएको हो । मन्त्रालयले उपभोक्ता मूल्य वृद्धिको दर स्थिर रहेकाले पनि श्रमिकहरूको वास्तविक आम्दानीमा सुधार देखिएको विश्लेषण गरेको छ ।
यद्यपि, सरकार अझै पनि पूर्ण रूपमा ढुक्क हुने अवस्थामा भने छैन । मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य बढ्न सक्ने र त्यसले पुनः महँगी बढाएर श्रमिकको वास्तविक तलबमा असर पार्न सक्ने जोखिमप्रति मन्त्रालयले सतर्कता व्यक्त गरेको छ ।








