
टोकियो – मध्य चीनको हुबेई प्रान्तमा आएको दुई शक्तिशाली टोर्नाडोका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार सोमबार साँझ करिब चार घण्टासम्म हुबेईका ह्वाङ्सी, ह्वाङगाङ, एजोउ र सियानिङ सहरमा प्रतिघण्टा १४९ किलोमिटरसम्मको वेगमा हावा चलेको थियो । तीव्र हावाले गाडी पल्टाउनुका साथै भवनका छाना उडाएको र विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। सरकारी टेलिभिजन सीसीटीभीले सार्वजनिक गरेको दृश्यमा क्षतिग्रस्त ट्रक, पोलमा ठोक्किएको कार र जताततै छरिएका फलामका पाताहरू देखिएका छन्।
हुबेई प्रान्तीय मौसम विभागका विज्ञका अनुसार उक्त क्षेत्रमा टोर्नाडो अत्यन्त दुर्लभ मानिन्छ । यसअघि सन् २०२१ को मे महिनामा प्रान्तमा टोर्नाडो देखिएको थियो । चीनका विभिन्न क्षेत्रमा पछिल्लो समय भारी वर्षा, अत्यधिक गर्मी र शक्तिशाली हावाहुरीका घटना बढिरहेका छन् । यस्ता मौसमी विपद्ले उद्योग, कृषि र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याउँदै आएका छन् ।
चीनको राष्ट्रिय मौसम केन्द्रले हुबेईसहित गुआङ्सी, ग्वाङडोङ, हाइनान, जिलिन, शानडोङ र लियाओनिङलगायत क्षेत्रमा थप भारी वर्षाको चेतावनी जारी गरेको छ । टाइफुन मेसाकको प्रभावबाट प्रभावित गुआङ्सी क्षेत्रमा आगामी २४ घण्टामा २६० मिलिमिटरसम्म वर्षा हुन सक्ने र त्यसले पहिरोको जोखिम बढाउन सक्ने चेतावनी दिइएको छ ।
पश्चिमी चीनको गान्सु प्रान्तमा पनि पहिरोपछि १६ जना बेपत्ता छन्। सरकारी सञ्चारमाध्यमका अनुसार बिहानै आएको पहिरोमा ३३ जना बगेका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङले बाढी र अन्य विपद्बाट प्रभावितहरूको उद्धारका लागि सबै सम्भव प्रयास गर्न निर्देशन दिएका छन् । यसैबीच चीन सुपर टाइफुन बाभीको जोखिममा पनि छ । उक्त शक्तिशाली आँधी प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढिरहेको छ र यसै साताको अन्त्यतिर चीनको पूर्वी तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने पूर्वानुमान गरिएको छ ।








