
टोकियो – हमासले गाजामा सञ्चालन गर्दै आएको आफ्नो सरकार विघटन गरी शासन व्यवस्था प्यालेस्टिनी प्राविधिक विज्ञहरूको समूहलाई हस्तान्तरण गर्न तयार रहेको घोषणा गरेको छ । तर इजरायलले भने यसलाई ‘देखावटी कदम’ भन्दै अस्वीकार गरेको छ ।
हमासले गाजाका मन्त्रालयहरूको निगरानी गर्दै आएको सरकारी संयन्त्र विघटन गरिएको जनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अघि बढाइएको युद्धपछिको गाजा व्यवस्थापन योजनाअन्तर्गत नागरिक प्रशासन स्थापना गर्ने दिशामा यो कदम चालिएको हमासको दाबी छ । यद्यपि मन्त्रालयहरू र त्यहाँ कार्यरत कर्मचारी यथावत् रहनेछन् । अमेरिकी मध्यस्थतामा भएको युद्धविरामपछि आफ्नो नियन्त्रणमा रहेका गाजाका क्षेत्रमा सुरक्षा र प्रहरी व्यवस्थाको जिम्मेवारीसमेत हमासले नै कायम राख्ने जनाएको छ ।
योजना कार्यान्वयनको अनुगमन गर्न गठन गरिएको ‘बोर्ड अफ पिस’ले हमासको घोषणालाई ध्यानमा लिएको जनाएको छ । तर गाजाका नागरिकको आवश्यकता पूरा गर्ने विषयमा वाचाभन्दा पनि व्यवहारका आधारमा मूल्याङ्कन गरिने उसको भनाइ छ ।
यसैबिच इजरायली विदेशमन्त्री गिडियन सारले भने प्राविधिक सरकारका लागि स्थान खाली गर्ने हमासको घोषणा निशस्त्रीकरणबाट बच्ने प्रयास भएको टिप्पणी गरेका छन् । उनका अनुसार हमाससँग हतियार रहेसम्म कुनै पनि नागरिक सरकारले स्वतन्त्र रूपमा काम गर्न सक्दैन । इजरायलले हमासको पूर्ण निशस्त्रीकरणसहित अमेरिकी योजनाका सबै पक्ष कार्यान्वयन हुनुपर्ने बताउँदै आएको छ । हमासले भने इजरायलमाथि युद्धविराम बारम्बार उल्लंघन गरेको र गाजाबाट सेना फिर्ता लैजानेलगायत सहमतिका अन्य पक्ष कार्यान्वयन नगरेको आरोप लगाएको छ ।
हमासको सरकारी सञ्चार कार्यालयका निर्देशक इस्माइल अल–थवाब्ताले गाजामा आयोजित पत्रकार सम्मेलनमा ‘सरकारी आपत्कालीन समिति’का प्रमुखले राजीनामा दिएको र समिति विघटन गरिएको जानकारी दिए । उनका अनुसार प्रशासनिक सत्ता हस्तान्तरणलाई सहज बनाउन र सहमत व्यवस्था कार्यान्वयनप्रतिको गम्भीरता देखाउन यस्तो निर्णय गरिएको हो । अमेरिका समर्थित योजनाअनुसार गाजाको प्रशासन ‘नेसनल कमिटी फर द एडमिनिस्ट्रेसन अफ गाजा’ नामक १५ सदस्यीय प्यालेस्टिनी प्राविधिक समितिलाई हस्तान्तरण गरिनुपर्नेछ ।
समितिका प्रमुख अली शाथले आवश्यक स्रोत र काम गर्ने वातावरण तयार भएलगत्तै गाजाको जिम्मेवारी लिन समिति तयार रहेको बताएका छन् । उनले गाजामा एउटै प्रशासन, एउटै कानुन र सोही प्रशासनको नियन्त्रणमा रहने एउटै सुरक्षा संरचना आवश्यक रहेको बताएका छन् । गाजाको ठूलो भूभाग अझै इजरायली सेनाको नियन्त्रणमा छ । हमासको निशस्त्रीकरण र इजरायली सेना फिर्ता हुने विषयमा सहमति हुन नसक्दा युद्धपछिको गाजा प्रशासनसम्बन्धी योजना अझै चुनौतीपूर्ण अवस्थामा छ ।








