समाचार सुन्नुहोस :
काठमाडौँ – सहआयोजक अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियम फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा पुगेको छ। सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो।
बेल्जियमका लागि खेलको नवौं मिनेटमा चार्ल्स डे केटेलैरेले निकोलस रस्किनको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ३१औं मिनेटमा अमेरिकाका मलिक टिलम्यानले बराबरी गोल फर्काए पनि त्यसको दुई मिनेटपछि नै डे केटेलैरेले फेरी दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अघि बढाए। दोस्रो हाफमा बेल्जियमले थप दुई गोल गर्यो। ५७औं मिनेटमा हान्स वनाकेनले तेस्रो गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै जित सुनिश्चित गरे।
यस हारसँगै घरेलु टोली अमेरिकाको विश्वकप यात्रा अन्त्य भएको छ। अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।








