Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026

टोकियो – जापानमा रहेका नेपालीहरूले ‘ब्लड संकलन बस सेवा’ सञ्चालनका लागि वृहत् आर्थिक संकलन अभियान सुरु गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष ददीवल खड्काको नेतृत्वमा यो मानवीय कार्य अघि बढाइएको हो ।

खड्काका अनुसार ‘मानवताका लागि रगत, रगतका लागि प्रविधि’ भन्ने भावनालाई आत्मसाथ गर्दै नेपालका ग्रामीण भेगमा आधुनिक रक्त सेवा पुर्‍याउने उद्देश्यका साथ अभियान थालिएको छ । नेपालका दुर्गम र विकट क्षेत्रहरूमा रगतको अभावका कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अहिले पनि छ । रगतको अभावका कारण हुने मानवीय क्षति न्यूनीकरण गर्दै समयमै रक्तसेवा उपलब्ध गराउने उद्देश्यले ‘ब्लड संकलन बस सेवा’ सञ्चालनका लागि आर्थिक संकलन अभियान सुरु गरिएको हो ।

यही जुलाई १८ देखि २१ सम्म टोकियोमा आयोजना हुन लागेको ‘नेपाल फेस्टिभल’लाई यो अभियानले मुख्य मञ्च बनाउने भएको छ । हजारौँ नेपालीको सहभागिता रहने उक्त उत्सवमा संकलन गरिएको आर्थिक सहयोगले रक्त संकलन बस खरिदको लक्ष्यलाई थप नजिक पुर्‍याउने विश्वास गरिएको छ ।

यसअघि, जुन महिनामा नागोयामा सम्पन्न नेपाल फेस्टिभलबाट २ लाख २० हजार जापानी येन संकलन भइसकेको अभियानका संयोजक खड्काले जानकारी दिए । ‘हामीले नागोयाबाट सुरु गरेको यो सानो पाइलाले टोकियोमा ठूलो रूप लिने अपेक्षा गरेका छौँ,’ उनले भने ।

यस परियोजना अन्तर्गत करिब ७५ लाख नेपाली रुपैयाँको लागतमा अत्याधुनिक उपकरण र प्रविधिसहितको बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यो बस केवल सवारी साधन मात्र नभई एउटा ‘चलमान रक्त बैंक’ हुनेछ, जसले गाउँ-गाउँमा पुगेर सुरक्षित रूपमा रगत संकलन, भण्डारण र आवश्यक परेको ठाउँमा तत्काल आपूर्ति गर्नेछ ।

नेपालका ग्रामीण भेगमा दुर्घटनामा परेका घाइते, सुत्केरी महिला र आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले रगतकै खोजीमा घण्टौँ कुर्नुपर्ने वा रगत नपाएरै मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न यो बस प्रभावकारी सिद्ध हुने अपेक्षा गरिएको छ ।

सके दान, नसके सहयोग !
‘सके रक्तदान गरौं, नसके रक्तदान र संकलनको पुण्य काममा दान गरौं’ भन्ने नाराका साथ सञ्चालित यस अभियानमा जापानमा रहेका व्यवसायी, सामाजिक अभियन्ता र सम्पूर्ण नेपाली समुदायलाई सहयोग गर्न अपिल गरिएको छ ।

अभियान संयोजक खड्काका अनुसार यो कुनै व्यक्तिगत वा संस्थागत परियोजना मात्र नभई हजारौँ नेपालीको जीवन रक्षासँग जोडिएको सामूहिक दायित्व हो । विदेशमा रहेर पनि आफ्नो जन्मभूमिको दुःखमा मल्हम लगाउने उद्देश्यले सुरु गरिएको यो अभियानले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा नयाँ इँटा थप्ने विश्वास गरिएको छ ।

यस अभियानलाई सफल बनाउन नेपाल पत्रकार महासंघ जापान शाखाले पनि सक्रिय भूमिका निर्वाह गरिरहेको छ । महासंघले सम्पूर्ण नेपाली सञ्चारमाध्यमहरूलाई यो अभियानको समाचार सम्प्रेषण गरी मानवीय सेवामा हातेमालो गर्न आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया