टोकियो – चामलको अभाव र चर्को मूल्यवृद्धिको मार खेपेका जापानी उपभोक्ताका लागि सुखद खबर आएको छ । जापानमा चामलको मौज्दात उल्लेख्य रूपमा बढेको र थोक बिक्रेताहरूले ‘डिस्काउन्ट’ मा बिक्री सुरु गरेका कारण आगामी महिनाहरूमा चामलको मूल्यमा भारी गिरावट आउने प्रक्षेपण गरिएको छ ।
‘राइस स्टेबल सप्लाई सपोर्ट अर्गनाइजेसन’ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, आगामी तीन महिनाका लागि चामलको मूल्य सूचकांक अघिल्लो महिनाको तुलनामा ४ विन्दुले घटेर १९ मा झरेको छ । यो सूचकांक ५० भन्दा तल रहनुको अर्थ बजारमा मूल्य घट्ने अपेक्षा बलियो हुनु हो । हालको यो स्तर सन् २०१४ को अगस्ट महिनापछिकै सबैभन्दा न्यून विन्दु हो, जतिबेला अघिल्लो वर्षको बम्पर उत्पादनका कारण बजारमा चामलको मौज्दात ह्वात्तै बढेको थियो ।
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार मे महिनाको अन्त्यसम्ममा निजी क्षेत्रमा चामलको मौज्दात अघिल्लो वर्षको तुलनामा ५१ प्रतिशतले बढेर २२ लाख ३० हजार टन पुगेको छ । यो मौज्दात सन् २०१४ को ऐतिहासिक उच्च विन्दुको बराबरी हो । सर्वेक्षणमा सहभागी ५८ प्रतिशत उत्पादनकर्ता र बिक्रेताहरूले आन्तरिक बजारमा चामलको मौज्दात उच्च रहेकाले मूल्य घट्ने बताएका छन् भने २३ प्रतिशतले चामल प्राप्तिको अवस्था सहज भएकाले मूल्य सस्तो हुने उल्लेख गरेका छन् ।
सन् २०२४ को गर्मीयाममा अत्यधिक तापक्रमका कारण धान उत्पादनमा कमी आउँदा जापानमा चामलको चरम अभाव देखिएको थियो । त्यसबेला ५ किलोग्राम चामलको मूल्य २ हजार येनबाट बढेर ४ हजार येनभन्दा माथि पुगेको थियो ।
मूल्यवृद्धिलाई नियन्त्रण गर्न जापान सरकारले आफ्नो गोदाममा रहेको सञ्चित चामल बजारमा पठाउन सुरु गरेपछि र खुद्रा बिक्रेताहरूसँग सिधा सम्झौता गरेपछि मूल्य बिस्तारै ओरालो लाग्न थालेको हो । अहिले बजारमा चामलको प्रचुर आपूर्ति भएकाले र थोक बिक्रेताहरूले पुरानो स्टक क्लियर गर्न छुट दिन थालेकाले अब जापानी भान्सा पहिलेभन्दा सस्तो हुने निश्चित भएको छ ।








