समाचार सुन्नुहोस :
काठमाडौँ – यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी हटाइएको छ। कार्यालय परिसरमै एक सेवाग्राहीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
मन्त्रीस्तरीय निर्णयअनुसार आचार्यलाई मन्त्रालयमा तानिएको छ भने उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई खटाइएको छ। प्रहरीले आचार्यमाथि अनुसन्धान पनि सुरु गरेको छ। धनुषा प्रहरीको समन्वयमा उनलाई बारा झिकाएर घटनाबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सार्वजनिक भएको सिसिटिभी फुटेज गत फागुनको तेस्रो साताको हो। कार्यालय प्रमुखको कार्यकक्ष बाहिर एक सेवाग्राहीसँग भएको विवादपछि दुवै पक्षबीच हातपात भएको देखिएको छ। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेपछि मन्त्रालयले तत्काल कारबाही गरेको हो।








