टोकियो – युरोपेली फुटबलका दुई महारथी स्पेन र पोर्चुगलबीचको रोमाञ्चक भिडन्तमा बाजी मार्दै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा मंगलबार सम्पन्न ‘राउन्ड अफ १६’ को खेलमा पोर्चुगललाई १-० ले स्तब्ध पार्दै स्पेनले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन सकेको थिएन । तर, दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले गोल गर्दै खेललाई नाटकीय मोड दिए । फेरान टोरेसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै मेरिनोले गरेको प्रहार नै स्पेनको जित र पोर्चुगलको बिदाइका लागि पर्याप्त बन्यो ।
स्पेनका लागि यो जित एउटा ठूलो ऐतिहासिक कोशेढुङ्गा सावित भएको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा च्याम्पियन बनेयता स्पेन पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो । पछिल्ला तीन संस्करणमा स्पेनको प्रदर्शन बिर्सनलायक थियो -सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ मा अन्तिम १६ को अवरोध पार गर्न असफल भएको थियो । १६ वर्षपछि स्पेनले पुनः विश्वकपको अन्तिम आठको यात्रा तय गरेको छ ।
खेलभरि नै स्पेनले पोर्चुगलमाथि दबाब कायम राखेको थियो । बल पोजेसन र विपक्षीको पोस्टमा आक्रमण गर्ने मामिलामा स्पेन पोर्चुगलभन्दा निकै अघि देखियो । पोर्चुगलका डिफेन्डर र गोलकिपरले स्पेनिस आक्रमणलाई निकै समयसम्म रोके पनि खेलको अन्तिम क्षणमा उनीहरू संयमित हुन सकेनन् ।








