टोकियो – टोकियोको एक व्यस्त सडकमा बुधबार राति दुई अज्ञात व्यक्तिले ६० को दशककी चिनियाँ महिलाबाट करिब ८० लाख येन नगद रहेको झोला लुटेका छन् ।
तोसिमा वार्डस्थित इकेबुकुरो स्टेसन नजिकैको व्यस्त बजार क्षेत्रमा बुधबार राति यो घटना भएको प्रहरीले बिहीबार जानकारी दिएको छ । लुटपाटको क्रममा लुटेराहरूको आक्रमणबाट महिलाको टाउकोमा सामान्य चोट लागेको छ ।
प्रहरीका अनुसार, राति करिब ८:३० बजे एक प्रत्यक्षदर्शीले घटनाबारे आपत्कालीन फोन गरेर जानकारी गराएका थिए । लुटेराहरूले सुरुमा महिलाको अनुहारमा कुनै अज्ञात तरल पदार्थ ‘स्प्रे’ गरेका थिए र त्यसपछि टाउकोमा नाङ्गो हातले प्रहार गरी नगद भरिएको झोला खोसेर फरार भएका थिए ।
घटना भएको स्थान रेस्टुरेन्ट र पसलहरूले भरिएको टोकियोको निकै व्यस्त पर्यटकीय तथा व्यापारिक क्षेत्र मानिन्छ। प्रहरीले अहिले लुटपाट र कुटपिटको अभियोगमा दुई फरार संदिग्धहरूको खोजी कार्य तीव्र पारेको छ । वरपरका सीसीटीभी फुटेजहरूको माध्यमबाट अपराधीहरूको पहिचान गर्ने प्रयास भइरहेको र सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।








