टोकियो – जापानको मियागी प्रान्तमा पूर्ण स्वचालित (लेभल ४) प्रविधिको बस सेवाको सफल परीक्षण सुरु भएको छ । ‘जेआर इस्ट’ कम्पनीद्वारा सञ्चालित यो बस जापानकै सबैभन्दा तीव्र गतिमा गुड्ने र लामो दूरी तय गर्ने पहिलो स्वचालित सार्वजनिक सवारी बनेको छ ।
१५.५ किलोमिटरको एकतर्फी दूरीमा सञ्चालन हुने यो बस प्रतिघण्टा ६० किलोमिटरको गतिमा गुड्छ । ‘केसेन्नुमा लाइन बीआरटी’ अन्तर्गत सञ्चालित यस बसलाई सडकमा २-२ मिटरको दूरीमा राखिएका चुम्बकीय मार्कर र विशेष सेन्सरले दिशा निर्देश गर्दछन् । यदि सडकमा कुनै जनावर वा अवरोध आएमा बसमा जडान गरिएको क्यामेरा र सेन्सरले त्यसलाई पहिचान गरी बसलाई आफैँ रोक्ने क्षमता राख्दछ ।
परीक्षणका क्रममा बसभित्रको वातावरण सामान्य बस जस्तै देखिए पनि यसको सञ्चालन पद्धति निकै आधुनिक छ । परीक्षण अवधिभर सुरक्षाका लागि चालक सिटमा मानिस उपलब्ध भए तापनि उनले स्टेयरिङ वा अन्य कुनै कमान्ड नछोई बस पूर्णतः स्वचालित रूपमा गुड्छ । यात्रुहरूका अनुसार ६० किमिको गतिमा गुड्दा पनि बसमा कुनै कम्पन महसुस नहुने र यात्रा निकै सुरक्षित र स्थिर रहेको छ ।
जापानमा हाल देखिएको सवारी चालकहरूको अभावलाई सम्बोधन गर्न यो प्रविधि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ । जेआर इस्टका कार्यकारी अधिकृत योशिहिसा निशिमुराले सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको बताउँदै आगामी सन् २०२८ सम्म यस सेवालाई थप विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए । यो परीक्षण जुलाई ४ सम्म हरेक शुक्रबार र शनिबार सर्वसाधारणका लागि निःशुल्क उपलब्ध गराइएको छ, जसका लागि अनलाइनमार्फत अग्रिम आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।








