टोकियो – अन्तर्वार्ताका क्रममा दिइएका लोभलाग्दा आश्वासन र कार्यस्थलको वास्तविक अवस्थाबीचको अन्तर हुनु सामान्य जस्तै बनेको छ । तर, जब व्यवस्थापकीय कमजोरीका कारण श्रमिकको पारिश्रमिक र कार्यतालिका नै भद्रगोल हुन्छ, त्यसले गम्भीर मानवीय र कानुनी प्रश्न उब्जाउँछ । जापानको मिए प्रान्तका एक ५० वर्षीय व्यक्तिको पछिल्लो अनुभवले यसै तितो यथार्थलाई उजागर गरेको छ ।
यातायात र उपकरण क्षेत्रमा कार्यरत ती व्यक्तिले आफू पूर्ववत रूपमा आबद्ध रहेको एक सुरक्षा कम्पनीले कसरी झुक्यायो भन्नेबारे आफ्नो भोगाइ सार्वजनिक गरेका छन् । अन्तर्वार्ताका क्रममा उनलाई एक निश्चित स्थानमा काम गर्ने गरी दैनिक १२ हजार येन पारिश्रमिक दिने बाचा गरिएको थियो। तर, कामको पहिलो दिनमै उनले धोका महसुस गरे । ‘मलाई एउटा निश्चित ठाउँमा १२ हजार येन दिने भनिएको थियो, तर पहिलो दिनमै अर्कै ठाउँमा पठाइयो र पारिश्रमिक केवल ९ हजार येन मात्र दिइयो,’ उनले गुनासो गरे ।
समस्या पारिश्रमिकमा मात्र सीमित थिएन, कम्पनीको कार्यतालिका यति भद्रगोल थियो कि उनले पटक-पटक अपमानित हुनुपर्यो । कार्यस्थलमा रिपोर्टिङ गर्दा उनलाई प्रायः ;हामीले आज कर्मचारी मगाएकै थिएनौँ’ भन्दै रित्तो हात घर फर्काइन्थ्यो । ती व्यक्तिका अनुसार विगत पाँच महिनाको अवधिमा उनले यस्तो सास्ती २५ पटक भोगे । ‘कतिपय अवस्थामा त लगातार तीन दिनसम्म पनि मलाई काम नभएको भन्दै फिर्ता पठाइयो,’ उनले भने ।
कम्पनीको अव्यवस्थाप्रति धैर्यको बाँध टुटेपछि उनले व्यवस्थापनसँग स्पष्टीकरण मागेका थिए । ‘मैले सोधेँ- यो के भइरहेको छ ? यो मलाई स्वीकार्य छैन । तर समस्या समाधान गर्नुको सट्टा उनीहरूले उल्टै मलाई ३ देखि ५ दिनसम्म काम नदिई ‘साइडलाइन’ गरिदिए,’ उनले थपे ।
एक महिनामा कम्तीमा पाँच पटक यस्तो समस्या भोग्नु र जायज प्रश्न उठाउँदा प्रतिशोध साधिनु पूर्णतः अनैतिक र अमानवीय कार्य हो । अनुसन्धानले के देखाएको छ भने उक्त कम्पनीको समस्या केवल कर्मचारी व्यवस्थापनमा मात्र नभई ग्राहकसँगको समन्वयमा पनि उस्तै थियो । कहिले एकजना सुरक्षाकर्मी मागिएको ठाउँमा तीनजना पुग्ने त कहिले आवश्यक परेको बेला कोही पनि नजाने जस्तो अस्तव्यस्त सेवाका कारण कम्पनीको छवि नै धमिलिएको थियो ।
यो घटनाले श्रम बजारको एउटा यस्तो अँध्यारो पाटोलाई देखाएको छ, जहाँ श्रमिकको अधिकारलाई बेवास्ता गरिन्छ र कमजोर सञ्चारको आडमा शोषण गरिन्छ । –जापानडेली








