टोकियो – जापान यतिबेला आफ्नो इतिहासकै सबैभन्दा गम्भीर जनसांख्यिकीय चुनौतीसँग जुधिरहेको छ । जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले मुलुकमा जन्मदर र प्रजनन दर दुवै अहिलेसम्मकै न्यून बिन्दुमा पुगेको देखाएको छ । यसले विश्वको चौथो ठूलो अर्थतन्त्र भएको यस मुलुकमा ‘जनसंख्या संकट’को भयावह तस्विर प्रस्तुत गरेको छ ।
सन् १९४९ को ‘बेबी बूम’ समयमा वार्षिक २७ लाख शिशु जन्मिने गरेकोमा अहिले त्यो संख्या त्यसको एक चौथाइमा झरेको छ । जापानमा सन्तान जन्मको प्रत्यक्ष सम्बन्ध विवाहसँग जोडिएको हुन्छ। तथ्याङ्क अनुसार सन् २००० मा जापानमा वार्षिक ८ लाख विवाह हुने गरेकोमा यो संख्या ४ लाख ८९ हजार १ सय १९ मा झरेको छ ।
विज्ञहरूका अनुसार विवाहको संख्या घट्नुमा बदलिँदो जीवनशैली र कार्यस्थलको वातावरण मुख्य जिम्मेवार छ । ‘रिमोट वर्क’ (घरबाटै काम गर्ने) संस्कृतिको विकासले मानिसहरूबीचको सामाजिक दुरी बढाएको छ । साथै, कार्यस्थलमा कसैको निजी जीवनबारे सोधपुछ गर्दा ‘ह्यारासमेन्ट’ (उत्पीडन) मानिने डरले गर्दा पनि नयाँ सम्बन्धहरू सुरु हुन कठिन भइरहेको छ ।
यही चुनौतीका बीच जापानी युवाहरू अब ‘प्राकृतिक’ रूपमा जीवनसाथी भेटिने पर्खाइ छोडेर व्यावसायिक म्याचमेकिङ एजेन्सी र एपहरूतर्फ आकर्षित हुन थालेका छन् । २५ वर्षीय शिबाता यू यसको एक उदाहरण हुन् । डेटिङ एपहरूमा दुई वर्ष बिताउँदा पनि गम्भीर सम्बन्ध नपाएपछि उनी म्याचमेकिङ एजेन्सी पुगे । ‘म्याचमेकिङ एजेन्सीमार्फत मैले आफूले चाहेको जस्तो जीवनसाथी केवल चार महिनामा भेट्टाएँ,’ उनले भने ।
यी एजेन्सीहरूले व्यक्तिगत विवरणको प्रमाणीकरण गर्ने र गम्भीरतापूर्वक विवाह गर्न चाहनेहरूलाई मात्र जोड्ने भएकाले युवाहरूमा यसप्रति विश्वास बढेको छ। तथ्याङ्क अनुसार, पछिल्लो पाँच वर्षमा यस्ता सेवा प्रयोग गर्ने महिलाको संख्या दोब्बर र पुरुषको संख्या तेब्बरले बढेको छ।
जापानका ठूला कम्पनीहरूले अब आफ्ना कर्मचारीको विवाहलाई ‘कर्मचारी कल्याण’ हिस्सा बनाउन थालेका छन् । टोकियोस्थित ‘तेरुमो’ जस्ता मेडिकल उपकरण निर्माता कम्पनीहरूले आफ्ना कर्मचारीका लागि विशेष ‘म्याचमेकिङ एप’ उपलब्ध गराउन थालेका छन् ।
‘आयोगोन’ जस्ता एआई आधारित एपहरू केवल स्वीकृत कम्पनीका कर्मचारीहरूका लागि मात्र उपलब्ध छन् । यसले कर्मचारीहरूलाई सुरक्षित र विश्वसनीय वातावरणमा जीवनसाथी खोज्न मद्दत गर्दछ । कम्पनीका अधिकारीहरूका अनुसार, यदि कर्मचारीको निजी जीवन स्थिर र सुखद भयो भने त्यसले कार्यस्थलको प्रदर्शनमा पनि सकारात्मक प्रभाव पार्छ ।
अनुसन्धानकर्ता मोगी र्योहेईका अनुसार जापानको संकट इटाली वा स्पेनको तुलनामा धेरै फरक छ । ‘इटाली र स्पेनमा पनि प्रजनन दर न्यून छ, तर त्यहाँ सन्तान नभए पनि प्रेम सम्बन्धमा रहेका जोडीहरूको संख्या धेरै छ । जापानमा भने ८० प्रतिशत अविवाहितहरू विवाह त गर्न चाहन्छन्, तर ७० प्रतिशतसँग कुनै रोमान्टिक पार्टनर नै छैन,’ मोगी विश्लेषण गर्छन् ।
जापानी युवाहरू सम्बन्धमा बाँधिनुअघि ‘व्यावहारिक पक्ष’लाई बढी प्राथमिकता दिन्छन् । आम्दानीको स्थिरता र घरको कामको बाँडफाँड जस्ता विषयमा सहमति भएपछि मात्र उनीहरू सम्बन्ध अगाडि बढाउन चाहन्छन् ।








