Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो — इरानविरुद्धको युद्धमा एउटै धारमा देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीचको सम्बन्धमा खटपट देखिएको छ। ट्रम्पले फोन वार्ताका क्रममा नेतान्याहुप्रति अपशब्द प्रयोग गरेको विभिन्न सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

समाचार संस्था एक्सियोस र एबीसी न्युजका अनुसार ट्रम्पले लेबनानको राजधानी बेरुतमा आक्रमण गर्ने इजरायलको चेतावनीप्रति कडा आपत्ति जनाएका थिए। यस्तो आक्रमणले इरानसँग भइरहेको वार्तामा असर पार्न सक्ने भन्दै ट्रम्पले नेतान्याहुमाथि आक्रोश व्यक्त गरेका थिए।

रिपोर्टअनुसार ट्रम्पले सोमबार भएको फोन संवादमा नेतान्याहुको कडा आलोचना गर्दै आफूले उनलाई राजनीतिक रूपमा जोगाइरहेको बताएका थिए। यद्यपि इजरायली सञ्चारमाध्यमहरूले भने उक्त कुराकानीबारे आएको विवरण अस्वीकार गरेका छन्।

ह्वाइट हाउसका एक अधिकारीले यस विषयमा प्रत्यक्ष प्रतिक्रिया दिनुको सट्टा ट्रम्पले सोमबार आफ्नो ट्रुथ सोशलमा लेखेका पोस्टहरूतर्फ संकेत गरेका छन्। ती पोस्टमा ट्रम्पले नेतान्याहु बेरुतबाट सेना फिर्ता गर्न र हिज्बुल्लाहसँग गोलीबारी रोक्न सहमत भएको भन्दै धन्यवाद दिएका थिए।

इरानले इजरायलद्वारा लेबनानमा गरिएको आक्रमणका कारण शान्ति वार्ता रोकेको बताइएको छ। तर विश्लेषकहरूका अनुसार ट्रम्प र नेतान्याहुबीच तनाव देखिएको यो पहिलोपटक होइन।

इजरायलका लागि पूर्व अमेरिकी राजदूत डान शापिरोका अनुसार नेतान्याहु र अमेरिकी राष्ट्रपतिहरूबीच कुनै न कुनै चरणमा तनाव देखिनु नयाँ कुरा होइन। उनले नेतान्याहुले आफूसँग काम गरेका हरेक अमेरिकी राष्ट्रपतिसँग यस्तो असन्तुष्टिको अवस्था सिर्जना गरेको टिप्पणी गरेका छन्।

नेतान्याहुले करिब तीन दशकदेखि इरानको आणविक कार्यक्रमविरुद्ध अमेरिकी राष्ट्रपतिहरूलाई कडा कदम चाल्न आग्रह गर्दै आएका थिए। ट्रम्प सत्तामा फर्किएपछि भने उनले आफ्नो विचारसँग नजिक देखिने अमेरिकी नेता पाएको विश्लेषण गरिएको छ।

तर युद्ध लम्बिँदै जाँदा ट्रम्पका लागि पनि राजनीतिक जोखिम बढिरहेको छ। उनको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानभित्रकै केही प्रभावशाली व्यक्तिहरूले अमेरिका इजरायलको पक्षमा अनावश्यक रूपमा मध्यपूर्वको युद्धमा तानिएको आरोप लगाएका छन्।

पूर्व फक्स न्युज प्रस्तोता टकर कार्लसन, पूर्व सांसद मार्जोरी टेलर ग्रिन र अन्य केही दक्षिणपन्थी नेताहरूले ट्रम्पको इजरायल नीतिमाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूका अनुसार यस्तो नीति ‘अमेरिका फर्स्ट’ सिद्धान्तसँग मेल खाँदैन।

अर्कोतर्फ, नेतान्याहु पनि घरेलु राजनीतिमा ठूलो दबाबमा छन्। लेबनान, इरान र गाजामा खुला युद्ध मोर्चा रहेको अवस्थामा उनी भ्रष्टाचारसम्बन्धी मुद्दा र दक्षिणपन्थी गठबन्धन टुट्ने जोखिमसँग जुधिरहेका छन्।

अन्तर्राष्ट्रिय संकट समूहकी मैरव जोन्सजेनका अनुसार नेतान्याहु सत्ता टिकाइराख्न संघर्ष गरिरहेका छन् भने ट्रम्प युद्धबाट बाहिरिने बाटो खोजिरहेका छन्। उनका अनुसार ट्रम्पसँग नेतान्याहुमाथि प्रभाव पार्ने ठूलो क्षमता छ, र नेतान्याहुले ट्रम्पको इच्छाविपरीत सहजै कदम चाल्न सक्दैनन्।

विश्लेषकहरूका अनुसार ट्रम्प अहिले युद्ध अन्त्यतर्फ अघि बढ्न चाहन्छन्, तर नेतान्याहु अझै सैन्य कारबाहीलाई प्राथमिकता दिन चाहन्छन्। यही विषय दुवै नेताबीचको मुख्य मतभेदका रूपमा देखिएको छ।

तपाईको प्रतिक्रिया