Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानको बदलिँदो जनसांख्यिकीय संरचनासँगै सार्वजनिक विद्यालयहरूमा एउटा नयाँ चुनौती थपिएको छ- विदेशी विद्यार्थीहरूको व्यवस्थापन र भाषा शिक्षण । पछिल्लो एक दशकमा जापानमा बसोबास गर्ने विदेशीहरूको संख्यामा आएको उल्लेख्य वृद्धिसँगै जापानी भाषा सिक्नुपर्ने बालबालिकाको संख्या झण्डै दोब्बर पुगेको छ ।

गत वर्षको तथ्याङ्क अनुसार ८४ हजारभन्दा बढी बालबालिकालाई अतिरिक्त जापानी भाषा सहयोग आवश्यक देखिएको छ । यो संख्या १० वर्षअघिको तुलनामा झण्डै दुई गुणा बढी हो । यसले जापानको शिक्षा प्रणाली र स्थानीय सरकारहरूमाथि ठूलो दबाब सिर्जना गरेको छ ।

राजधानी टोकियोको अडाची वार्डले यो समस्यालाई नजिकबाट झेलिरहेको छ । चीन, मंगोलिया, नेपाल र फिलिपिन्स जस्ता विभिन्न मुलुकबाट आएका विद्यार्थीहरूका कारण यहाँका विद्यालयहरू भरिभराउ छन् । तर जापानी विद्यार्थीहरूसँगै कक्षामा बसेर पढ्नका लागि विदेशी बालबालिकालाई भाषाको ठूलो पर्खाल बाधक बनेको छ ।

यही खाडल पुर्न अडाची वार्डले सन् २०२० देखि ‘जापानी अध्ययन कक्ष’ सञ्चालनमा ल्याएको छ । तर माग यति उच्च छ कि एउटै अध्ययन कक्षमा ६० भन्दा बढी विद्यार्थीहरू कोचिएर पढ्न बाध्य छन् । ‘हामीसँग कस्तो पाठ्यक्रम वा पाठ्यपुस्तक प्रयोग गर्ने भन्ने निश्चित निर्देशिका थिएन, हामीले ट्रायल र एररको आधारमा काम सुरु गर्‍यौं,’ अडाची जापानी भाषा कक्षाका प्रबन्धक ओसाकाबे तेत्सुयाले भने ।

जापानको शिक्षा मन्त्रालयद्वारा गठित विज्ञ टोलीले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार, विदेशी बालबालिकाका लागि भाषा मात्र होइन, जापानी स्कूलको संस्कारमा घुलमिल हुनु पनि अर्को चुनौतीपूर्ण पाटो हो । जापानी विद्यालयहरूमा आफ्नै कोठा आफैं सफा गर्ने, सामूहिक रूपमा स्कूलको खाजा वितरण गर्ने र विभिन्न सांस्कृतिक उत्सवहरू हुने गर्छन्, जुन विदेशी बालबालिकाका लागि बिल्कुलै नयाँ हुन्छन् । विज्ञहरूले नयाँ आउने विद्यार्थीहरूका लागि ‘प्रि-क्लास’को व्यवस्था गर्न सिफारिस गरेका छन्, जहाँ उनीहरूलाई भाषासँगै जापानी विद्यालयको नियम र संस्कृतिबारे सिकाउन सकियोस् ।जापानको घट्दो जन्मदर र वृद्ध जनसंख्याका कारण श्रम बजारमा विदेशी कामदारहरूको खाँचो टड्कारो छ । हिरोसाकी विश्वविद्यालयकी प्रोफेसर योशिदा मिहोका अनुसार, जापानको भविष्य यी विदेशी बालबालिकाहरूलाई कति राम्रोसँग समाजमा समाहित गर्न सकिन्छ भन्ने कुरामा निर्भर छ । ‘यी बालबालिकाहरू आफ्ना परिवारसँग जापान आएका हुन् । यदि उनीहरूले भाषा र समाजको पद्धति बुझेनन् भने उनीहरूको भविष्य अन्धकार हुन सक्छ,’ प्रोफेसर योशिदा भन्छिन्, ‘यसले अन्ततः जापानको भविष्यलाई नै असर गर्नेछ ।’

जापानी भाषामा पकड नहुँदा विदेशी विद्यार्थीहरूले हाई-स्कूल बीचमै छोड्ने दर उच्च छ र विश्वविद्यालय भर्ना हुने दर पनि जापानी विद्यार्थीहरूको तुलनामा निकै कम छ । समस्या केवल विद्यार्थीको संख्यामा मात्र सीमित छैन । जापानका क्षेत्रीय क्षेत्रहरूमा जापानी भाषालाई दोस्रो भाषाको रूपमा सिकाउने तालिमप्राप्त शिक्षकहरूको चरम अभाव छ । पहिले टोकियो र ओसाका जस्ता ठूला शहरमा मात्र सीमित विदेशी बालबालिकाहरू अहिले जापानका कुना-काप्चासम्म पुगेका छन्, तर त्यहाँ शिक्षक र पूर्वाधारको अभाव छ ।

विज्ञ टोलीले विश्वविद्यालयहरूमा शिक्षक तयार गर्दा नै ‘विदेशी विद्यार्थीलाई कसरी पढाउने’ भन्ने विषयलाई अनिवार्य पाठ्यक्रममा राख्न सुझाव दिएको छ । साथै, स्थानीय सरकारहरूलाई पर्याप्त बजेट उपलब्ध गराउनु पर्ने आवश्यकता पनि औंल्याइएको छ ।

विदेशी विद्यार्थीको यो बढ्दो चापले जापानलाई एउटा बहुसांस्कृतिक समाजको रूपमा रुपान्तरण हुन दबाब दिएको छ । भाषाको अवरोध हटाउनु केवल शैक्षिक मुद्दा मात्र नभई जापानको आर्थिक र सामाजिक अस्तित्वको सवाल पनि बनेको छ । यदि जापानले यी बालबालिकाको शिक्षामा आज लगानी गरेन भने, भोलिको श्रम बजार र सामाजिक सद्भावमा ठूलो चुनौती आउन सक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया