Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – शक्तिशाली उष्णप्रदेशीय आँधी ‘जाङ्ग्मी’ ले बुधबार बिहान जापानमा ठूलो विनाश निम्त्याएको छ । भीषण वर्षा र तीव्र गतिको हावाका कारण यातायात र व्यावसायिक गतिविधि पूर्ण रूपमा प्रभावित भएका छन् भने दशौँ हजार घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ ।

जापानको मौसम विज्ञान विभागका अनुसार आँधीको केन्द्र हाल मुख्य टापु होन्शु नजिक रहेको र यो उत्तर-पूर्वतर्फ राजधानी टोकियोतर्फ अघि बढिरहेको छ । आँधीको समयमा हावाको गति २५ मिटर प्रतिसेकेन्डसम्म रेकर्ड गरिएको छ । विभागले प्रशान्त तटीय क्षेत्रका बासिन्दाहरूलाई ‘प्राणघातक विपद्’ आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ ।

सरकारका प्रवक्ता मिनोरु किहाराले नियमित प्रेस ब्रिफिङका क्रममा आँधीले हालसम्म झन्डै ६० हजार घरधुरीमा बिजुली काटिएको जानकारी दिएका छन् । प्रवक्ता किहाराले नागरिकहरूलाई अपील गर्दै भने, ‘यदि तपाईंलाई थोरै पनि खतराको महसुस हुन्छ भने, आफ्नो ज्यान जोगाउन समयमै सुरक्षित स्थानतर्फ लाग्न ढिलाइ नगर्नुहोस् ।’

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दक्षिण-पश्चिमी, मध्य र पूर्वी जापानका आठवटा प्रान्तका लाखौँ बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान (इभ्याकुएसन एडभाइजरी) निर्देशन दिइएको छ ।

आँधीका कारण हवाई यात्रा सबैभन्दा बढी प्रभावित भएको छ । जापान एयरलाइन्स र अल निप्पोन एयरवेजसहितका प्रमुख वायुसेवा कम्पनीहरूले बुधबार बिहानसम्म झन्डै ९०० वटा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेका छन्। यसैगरी, क्युशु र पश्चिमी जापानका केही खण्डमा बुलेट ट्रेन (सिन्कानसेन) ढिलो चलेका छन् । इस्ट जापान रेलवेले टोकियो क्षेत्रका केही स्थानीय रेल सेवाहरू बन्द गरेको छ र आँधीको मार्ग हेरेर थप सेवाहरू पनि अवरुद्ध हुन सक्ने जनाएको छ ।

मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै जापानका ठूला उद्योगहरूले पनि उत्पादन बन्द गरेका छन् । विश्वकै ठूलो सवारी निर्माता टोयोटा मोटरले बुधबार बिहानदेखि आफ्ना १३ वटा स्वदेशी कारखानाको काम स्थगित गरेको छ । त्यस्तै, सुजुकी मोटरले पनि सिजुओका प्रान्तमा रहेका आफ्ना पाँचवटै कारखानाको सञ्चालन रोकेको छ ।

हाल ९८० हेक्टोपास्कल केन्द्रीय चाप रहेको यो आँधी सिजनको छैटौँ ताइफुन हो । यो केही कमजोर भएर उष्णप्रदेशीय आँधीमा परिणत भए तापनि यसले ल्याएको मुसलधारे वर्षाले बाढी र पहिरोको जोखिम उच्च बनाएको छ ।

तपाईको प्रतिक्रिया