टोकियो – जापानमा राजपरिवारको घट्दो सदस्य संख्या र राजगद्दीको स्थिर उत्तराधिकार सुनिश्चित गर्न संसदका दुवै सदनका सभामुख र उपसभामुखहरूले एक नयाँ कार्ययोजना अघि सारेका छन् । जसअनुसार पूर्व राजघरानाका पुरुष वंशजहरूलाई राजपरिवारमा ‘धर्मपुत्र’का रूपमा भित्र्याउँदा कम्तीमा १५ वर्ष पुगेका व्यक्तिलाई मात्र प्राथमिकता दिइने भएको छ ।
संसदका पदाधिकारीहरूले यो उमेरको हद तोक्नुको मुख्य कारण धर्मपुत्र बन्ने व्यक्तिको ‘स्वेच्छा’ लाई सम्मान गर्नु रहेको बताएका छन् । जापानको नागरिक कानुन अनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई धर्मपुत्र राख्दा उनीहरूको अभिभावक वा कानुनी संरक्षकको सहमति अनिवार्य हुन्छ । तर, १५ वर्ष पुगेका व्यक्तिले आफ्नै निर्णय लिन सक्ने भएकाले, राजपरिवार जस्तो महत्वपूर्ण जिम्मेवारीमा आउन चाहने व्यक्तिको आफ्नै स्वतन्त्र इच्छालाई कदर गर्न यो उमेरको मापदण्ड तोकिएको हो ।
राजगद्दीको उत्तराधिकारका सम्बन्धमा विभिन्न दलहरूबीच भएको छलफलपछि सरकारद्वारा गठित विज्ञ समूहले दुईवटा विकल्पलाई ‘उपयुक्त’ ठहर गरेको छ:-
- राजकुमारीहरूले विवाह गरेपछि पनि राजपरिवारको सदस्यको रूपमा आफ्नो पद र जिम्मेवारी कायमै राख्ने ।
- दोस्रो विश्वयुद्धपछि राजपद त्याग गरेका पुराना राजघरानाका पुरुष वंशजहरूलाई धर्मपुत्रका रूपमा राजपरिवारमा पुन: भित्र्याउने ।
सभामुख र उपसभामुखहरूले यी दुवै प्रस्तावलाई सैद्धान्तिक रूपमा स्वीकार गर्दै यसका कानुनी जटिलताहरू फुकाउन सरकारलाई निर्देशन दिने तयारी गरेका छन् ।
संसदका पदाधिकारीहरूले तयार पारेको यो प्रारम्भिक मस्यौदाका आधारमा सरकारले ‘इम्पेरियल हाउस ल’ (राजदरबार सम्बन्धी कानुन) मा आवश्यक संशोधन गर्नेछ । जसमा उमेरको हदबन्दी र धर्मपुत्र बन्ने प्रक्रियाका बारेमा स्पष्ट प्रावधानहरू राखिनेछन् । हाल जापानको राजपरिवारमा पुरुष उत्तराधिकारीको संख्या निकै कम हुँदै गएको छ । सम्राट नारुहितोपछि राजगद्दी सम्हाल्ने व्यक्तिको खडेरी पर्न नदिन यो ऐतिहासिक कदम चालिएको हो ।








