टोकियो – पूर्वी जापानको इचिकावा नगरपालिकाले स्थानीय एक मस्जिदलाई सर्तसहित सार्वजनिक पार्क प्रयोग गर्न अनुमति दिएको छ । नगरपालिकाले ‘इद उल-अधा’ (बकरइद) को अवसरमा आयोजना हुने महोत्सवका लागि पार्क प्रयोग गर्न दिए तापनि त्यहाँ सामूहिक रूपमा नमाज (धार्मिक प्रार्थना) पढ्न भने प्रतिबन्ध लगाएको छ ।
यसअघि नगरपालिकाले ‘हिरा मस्जिद ग्योतोकु’लाई पार्क प्रयोगका लागि दिएको निवेदन फिर्ता लिन आग्रह गरेको थियो । तर, लामो छलफलपछि नगरपालिकाले नमाज नपढ्ने सर्तमा पार्कमा अन्य सांस्कृतिक कार्यक्रम र स्टलहरू राख्न अनुमति दिएको हो । मस्जिदले नगरपालिकाको अनुरोधलाई स्वीकार गर्दै यसपटकका लागि पार्कमा नमाज नपढ्ने निर्णय गरेको छ, यद्यपि यसलाई उसले ‘अल्पकालीन व्यवस्था’ मात्र भनेको छ ।
मस्जिदका अनुसार सन् १९९७ मा स्थापना भएदेखि नै उनीहरूले वर्षको दुई पटक (इद उल-फित्र र इद उल-अधा) मस्जिद अगाडि रहेको ‘मिनामिओकी पार्क’ प्रयोग गर्दै आएका थिए । त्यहाँ सामूहिक नमाज पढ्नुका साथै विभिन्न खानाका स्टलहरू राखेर सांस्कृतिक आदानप्रदान गर्ने परम्परा थियो ।
यस वर्षको इदका लागि मे १९ मा निवेदन दिँदा नगरपालिकाले सुरुमा अनुमति दिन अस्वीकार गरेको थियो । पछि भएको सहमति अनुसार, मस्जिदले आफ्नो प्रस्तावित कार्यक्रमबाट ‘नमाज’ शब्द हटाएर पुनः निवेदन दिएपछि मे २६ मा अनुमति प्राप्त भएको हो । अब मस्जिदले इदको नमाज पार्कमा नभई मस्जिदभित्र वा अन्यत्रै पढ्ने तयारी गरेको छ ।
नगरपालिकाको पार्क तथा हरियाली व्यवस्थापन विभागका अनुसार सार्वजनिक स्थलमा राजनीतिक वा धार्मिक विचारधारा प्रवर्द्धन गर्ने कार्यक्रम गर्न आन्तरिक नियमले निषेध गर्दछ। यद्यपि, अधिकारीहरूले नमाज आफैँमा नियम विपरीत नभए पनि अन्य कारणले समस्या सिर्जना भएको बताएका छन् । एक अधिकारीले स्पष्ट पारे, ‘समस्या नमाजसँग मात्र होइन । ठूलो समूहमा मानिसहरू भेला भएर नीलो पाल बिछ्याउँदा पार्कको ‘एकलौटी प्रयोग’ भएको भन्दै सामाजिक सञ्जाल र नगर सभामा गुनासोहरू आएका थिए। त्यसैले हामीले यो निर्णय लिएका हौँ ।’
मस्जिदका प्रतिनिधि निर्देशकले यस निर्णयप्रति दुःख व्यक्त गरेका छन् । उनले भने, ‘विगतमा सधैँ अनुमति पाउँदै आएकोमा यसरी अचानक लगाइएको प्रतिबन्धले हामीलाई निकै दुःखी र निराश बनाएको छ । तैपनि, हामी नगरपालिका र स्थानीय समुदायसँग द्वन्द्व चाहँदैनौँ। हामी सधैँजस्तै छिमेकीहरूसँग मिलेर बस्न प्रतिबद्ध छौँ ।’








