टोकियो – जापानको राजकीय भ्रमणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर र उहाँकी पत्नी लुइस एरानेटा-मार्कोसलाई बुधबार टोकियोस्थित शाही दरबारमा भव्य स्वागत गरिएको छ । जापानी सम्राट नारुहितो र साम्राज्ञी मासाकोले राष्ट्रपति दम्पतीलाई एक विशेष समारोहका बीच स्वागत गर्नुभयो ।
उक्त स्वागत समारोहमा युवराज फुमिहितो, युवराज्ञी किको र प्रधानमन्त्री सानाए ताकाइची लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । दुई देशबीचको कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको ७०औँ वर्षगाँठको अवसरमा यो चार दिने भ्रमण भएको हो । सन् २०२५ को मार्चमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको भ्रमणपछि जापानमा भएको यो पहिलो उच्चस्तरीय राजकीय भ्रमण हो ।
शाही दरबारको ‘इस्ट गार्डेन’ मा आयोजित समारोहमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । सो अवसरमा राष्ट्रपति मार्कोसले जापानी आत्मरक्षा बल को विशेष टुकडीबाट अर्पण गरिएको ‘गार्ड अफ अनर’ (सम्मान गारद) ग्रहण गर्नुभयो ।
समारोहपश्चात सम्राट र साम्राज्ञीले दरबारको ‘ताके नो मा’ बैठक कक्षमा राष्ट्रपति दम्पतीसँग करिब २० मिनेट शिष्टाचार भेट गर्नुभयो। शाही गृह एजेन्सीका अनुसार भेटका क्रममा राष्ट्रपति मार्कोसले जापान र फिलिपिन्सबीचको सम्बन्ध निकै उत्कृष्ट ढङ्गले अघि बढिरहेको बताउनुभयो । उहाँले विशेषगरी जापानको स्वास्थ्य क्षेत्रमा नर्सका रूपमा र अन्य विभिन्न पेशामा कार्यरत फिलिपिनी नागरिकहरूको चर्चा गर्नुभएको थियो । जवाफमा सम्राट नारुहितोले जापानको सामाजिक र आर्थिक विकासमा फिलिपिनी नागरिकहरूले पुर्याएको उल्लेखनीय योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
राष्ट्रपति मार्कोसको सम्मानमा सम्राट दम्पतीले बुधबार साँझ शाही दरबारमा ‘राजकीय भोज’को आयोजना गर्नुभएको छ। यस भोजको विशेष आकर्षण युवराज फुमिहितोका १९ वर्षीय सुपुत्र राजकुमार हिसाहितोको उपस्थिति रहनेछ । गत वर्ष आफ्नो ‘वयस्क भएको घोषणा’ समारोह सम्पन्न भएपछि राजकुमार हिसाहितो पहिलोपटक यस्तो औपचारिक राजकीय भोजमा सहभागी हुन लाग्नुभएको हो ।








