टोकियो – टोकियो प्रहरीले वैदेशिक ‘विशेष ठगी’ धन्दामा संलग्न गराउने उद्देश्यले एक महिलालाई अपहरण गरेको आरोपमा कुख्यात आपराधिक समूह ‘याकुजा’का एक सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुमियोसी-काइ सिन्डिकेटसँग आबद्ध २५ वर्षीय यामाओ तेरुतो रहेका छन् ।
अभियुक्त यामाओले गत वर्षको जुन र जुलाईको बीचमा टोकियोको सिन्जुकुस्थित प्रसिद्ध मनोरञ्जन क्षेत्र ‘काबुकिचो’ मा २८ वर्षीया ती महिलालाई भेटेका थिए । प्रहरीका अनुसार अभियुक्तले ती महिलालाई कम्बोडिया गएर ‘फोन स्क्याम’ (फोनमार्फत गरिने ठगी) मा काम गर्न दबाब दिएका थिए ।
अनुसन्धानका क्रममा यो घटना झनै भयावह देखिएको छ । अभियुक्तले ती महिलालाई सिंगापुर गएर आफ्ना शारीरिक अङ्गहरू समेत बिक्री गर्न धम्की दिएको खुलेको छ । उनले ती महिलालाई ‘होस्ट क्लब’ (जहाँ पुरुषहरूले महिला ग्राहकलाई मनोरञ्जन दिन्छन्) को ऋण तिर्न बाँकी रहेको भन्दै मानसिक र शारीरिक दबाब दिने गरेको पाइएको छ ।
प्रहरीका अनुसार यामाओले ती महिलालाई करिब एक हप्तासम्म एउटा इन्टरनेट क्याफेमा बन्धक बनाएका थिए । त्यहाँ उनलाई अर्का एक व्यक्तिको कडा निगरानीमा राखिएको थियो ताकि उनी भाग्न नसकून् । अभियुक्तले आफूमाथि लागेको आरोप स्वीकार गरे-नगरेको बारेमा प्रहरीले हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।
प्रहरीले यामाओले सोही क्षेत्रका अन्य व्यक्तिहरूलाई पनि यसरी नै धम्क्याएर वा प्रलोभनमा पारेर वैदेशिक ठगी केन्द्रहरूमा पठाउने गरेको आशङ्का गरेको छ । यो घटनाले जापानमा सक्रिय आपराधिक समूहहरूले कसरी युवाहरूलाई निशाना बनाएर अन्तर्राष्ट्रिय ठगी र मानव तस्करीको जालो फैलाइरहेका छन् भन्ने गम्भीर तथ्य उजागर गरेको छ ।








