टोकियो – मध्यपूर्वमा जारी इरान द्वन्द्वका कारण इन्धनको मूल्य अकासिएपछि जापान सरकारले आफ्ना नागरिकहरूलाई बढ्दो ऊर्जा खर्चबाट राहत दिन अर्बौँ डलरको विशेष प्याकेज घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको गर्मीयाममा घरायसी विद्युत् र ग्यासको महसुल घटाउन ५१० अर्ब येन (करिब ३.२ अर्ब डलर) खर्च गर्ने निर्णय गरेको हो ।
सरकारको यो नयाँ नीति आगामी जुलाईदेखि सेप्टेम्बरसम्म लागू हुनेछ । यसका लागि आवश्यक पर्ने रकम चालु आर्थिक वर्षको बजेटमा ‘आकस्मिक कोष’का रूपमा छुट्टाइएको १ खर्ब येनमध्येबाट व्यवस्थापन गरिनेछ । सरकारी अधिकारीहरूका अनुसार यो अनुदान कार्यक्रमले तीन महिनाको अवधिमा एउटा औसत जापानी परिवारको ऊर्जा खर्चमा करिब ५,००० येन (करिब ३१ डलर) को भार कम गर्नेछ । जापानमा गर्मीयाममा वातानुकूलित यन्त्र (एसी) को प्रयोग बढी हुने भएकाले बढ्दो महँगीका बीच यो कदमले सर्वसाधारणलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ ।
यस निर्णयबारे जानकारी दिँदै अर्थमन्त्री सात्सुकी कातायामाले मध्यपूर्वबाट हुने ऊर्जा आपूर्तिको सरकारले सुक्ष्म रूपमा अनुगमन गरिरहेको बताउनुभयो । ‘इरान युद्धका कारण उत्पन्न हुन सक्ने कुनै पनि प्रतिकूल प्रभावबाट राष्ट्रिय अर्थतन्त्रलाई जोगाउन हामी प्रतिबद्ध छौँ र सोही अनुरूप उचित कदमहरू चालिनेछन्,’ उहाँले भन्नुभयो ।
आकस्मिक कोषको आधा रकम यसै राहत प्याकेजमा खर्च हुने भएपछि सरकारले उक्त कोषलाई पुनः भर्न र अन्य खर्च व्यवस्थापनका लागि आगामी हप्ता संसद (डाइट) मा ‘पूरक बजेट’ पेश गर्ने तयारी गरेको छ । उक्त पूरक बजेटको आकार ३१ खर्ब येन (करिब १९.५ अर्ब डलर) बराबरको हुने जनाइएको छ ।








