टोकियो – जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको मन्त्रिपरिषद्को जनसमर्थन घटेर ५० प्रतिशतमा पुगेको छ । पछिल्लो राष्ट्रव्यापी जनमत सर्वेक्षणले प्रधानमन्त्रीको लोकप्रियतामा क्रमिक ह्रास आएको देखाएको हो ।
सन् २०२५ अक्टोबरमा सरकार गठन भएयता यो समर्थनको सबैभन्दा न्यून स्तर हो । अघिल्लो महिना (अप्रिल) को तुलनामा समर्थनमा ३ प्रतिशत विन्दुको गिरावट आएको छ भने यो लगातार तेस्रो महिनाको गिरावट हो । यद्यपि, सरकारको कामप्रति असन्तुष्टि जनाउनेहरूको सङ्ख्या ३३ प्रतिशतमा स्थिर रहेको छ, जुन समर्थनको तुलनामा अझै निकै कम हो ।
तथ्याङ्कअनुसार प्रधानमन्त्री ताकाइचीप्रति महिला र युवा वर्गको मोह निकै घटेको देखिएको छ । फेब्रुअरीको सर्वेक्षणमा ६१ प्रतिशत महिलाले समर्थन गरेकोमा अहिले यो ४८ प्रतिशतमा झरेको छ । १८ देखि २९ वर्षका युवाहरूमा फेब्रुअरीमा ७० प्रतिशत समर्थन रहेकोमा अहिले ठूलो गिरावट आएर ४५ प्रतिशतमा सीमित भएको छ । ३० को दशकका मतदाताहरूमा पनि समर्थन ७२ प्रतिशतबाट घटेर ५३ प्रतिशतमा पुगेको छ ।
मध्यपूर्वमा जारी तनाव र त्यसले पार्न सक्ने दीर्घकालीन आर्थिक प्रभावलाई सम्बोधन गर्न सरकारले ल्याउन लागेको ३० खर्ब येन (करिब १८.९ अर्ब डलर) को पूरक बजेटलाई भने जनताले अनुमोदन गरेका छन् । ६३ प्रतिशत उत्तरदाताले यसको समर्थन गरेका छन् भने १८ प्रतिशतले मात्र विरोध गरेका छन् । इन्धन आपूर्तिमा देखिएको अनिश्चितताका कारण खाद्य उद्योगमा प्याकेजिङका रङ र डिजाइनमा समेत कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसैबीच, ५२ प्रतिशत नागरिकले सरकारले पेट्रोलियमजन्य उत्पादनको बचत गर्न सर्वसाधारणलाई थप आग्रह गर्नुपर्ने धारणा राखेका छन् ।
गत फेब्रुअरीको निर्वाचनमा सत्तारुढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ (एलडिपी) ले खाद्य सामग्रीमा ‘उपभोग कर शून्य’ बनाउने चुनावी नारा अघि सारेको थियो । तर, प्राविधिक जटिलता र क्यास रजिस्टर प्रणाली सुधार गर्न लाग्ने समयका कारण यसबारे जनमत विभाजित देखिएको छ । सर्वेक्षणमा ३२ प्रतिशतले कर घटाएर ‘१ प्रतिशत’ कायम गरे पुग्ने बताएका छन् भने ३० प्रतिशतले ‘० प्रतिशत’ नै हुनुपर्ने अडान राखेका छन् । अर्कोतर्फ, २५ प्रतिशतले भने कर घटाउनु पर्ने कुनै आवश्यकता नै नरहेको बताएका छन् । बढ्दो महँगीको सामना गर्न ४१ प्रतिशतले कर कटौतीलाई रोजेका छन् भने २९ प्रतिशतले नगद राहतको पक्षमा मत दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको वार्तालाई ४९ प्रतिशत जापानीले अन्तर्राष्ट्रिय समुदायका लागि सकारात्मक कदम मानेका छन् । ट्रम्पसँग प्रधानमन्त्री ताकाइचीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने प्रश्नमा ३२ प्रतिशतले ‘अहिलेको जस्तै दूरी ठीक भएको’ र २७ प्रतिशतले ‘निश्चित दूरी कायम राख्नुपर्ने’ बताएका छन् । मात्र १४ प्रतिशतले व्यक्तिगत विश्वासको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने सुझाव दिएका छन् ।
यस्तै, शाही परिवारको सङ्ख्या घट्दै गएको विषयमा ३७ प्रतिशतले ‘शाही परिवारका महिला सदस्यहरूले विवाहपछि पनि राजदरबारमै रहन पाउनुपर्ने’ प्रस्तावको समर्थन गरेका छन् । ११ प्रतिशतले पुराना शाही शाखाहरूबाट पुरुष सन्तानलाई धर्मपुत्रका रूपमा स्विकार्नुपर्ने बताएका छन् भने २६ प्रतिशतले यी दुवै विकल्पलाई खुला राख्नुपर्ने धारणा राखेका छन् । यो सर्वेक्षण स्मार्टफोनमार्फत देशभरका १,७८० जना १८ वर्ष माथिका नागरिकहरूबीच गरिएको थियो । –माइनिची








