काठमाडौँ – सार्वजनिक सवारीमा यात्रुको सामान सुरक्षित राख्न अब ‘ब्यागेज ट्याग’ प्रणाली लागू गरिने भएको छ। आगामी जेठ १५ गतेदेखि लागू हुने यो व्यवस्थाले झोला हराउने, चोरी हुने वा साटिने समस्या कम हुने अपेक्षा गरिएको छ।
यस सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच शुक्रबार सम्झौता भएको हो। ट्राफिक प्रहरीका अनुसार यात्रुको सामानको सुरक्षा मजबुत बनाउन र अवैध गतिविधि नियन्त्रण गर्न यो प्रणाली सुरु गर्न लागिएको हो। नयाँ व्यवस्थाअनुसार यात्रुको सामानमा विशेष ट्याग लगाइनेछ। एउटा ट्याग यात्रुसँग रहनेछ भने अर्को सामानमा राखिनेछ। गन्तव्यमा पुगेर दुवै ट्याग मिलाएपछि मात्र सामान फिर्ता दिइने व्यवस्था हुनेछ।
व्यवसायीहरूले क्युआर, बारकोड वा नम्बर आधारित ट्याग प्रयोग गर्नेबारे तयारी थालेका छन्। चालक र सहचालकलाई पनि यससम्बन्धी तालिम दिइने जनाइएको छ। प्रणाली लागू भएपछि सामान हराएमा यात्रुले क्षतिपूर्ति पाउने व्यवस्था पनि गरिएको छ। साथै झोलाभित्र लागुऔषध वा अन्य अवैध सामग्री ओसारपसार हुने समस्या नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।








