Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानका प्रतिष्ठित विश्वविद्यालय, व्यावसायिक प्रतिष्ठान र स्थानीय सरकारहरूले विदेशी विद्यावारिधि विद्यार्थीहरूलाई आकर्षित गर्न र अध्ययनपश्चात् उनीहरूलाई जापानकै श्रम बजारमा टिकाउनका लागि एउटा बृहत् साझा पहल सुरु गरेका छन् । जापानमा विदेशी शोधकर्ताहरूको सङ्ख्या बढाउने र उनीहरूलाई स्नातक भएपछि जापानकै निजी क्षेत्रसँग जोड्ने उद्देश्यले यो अभियान थालिएको हो ।

यसका लागि जापानमा कार्यरत विदेशी विद्यावारिधि धारकहरूको अनुभव र जानकारी साझा गर्न तथा उनीहरूलाई रोजगारीका अवसरहरूसँग जोड्न एउटा विशेष प्लेटफर्म निर्माण गरिएको छ । नारा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी र ओकिनावा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीले गत अप्रिलमा ‘ट्रिपल–हेलिक्स राउन्डटेबल फर इन्टरनेशनल विद्यावारिधि ट्यालेन्ट’ नामक अनलाइन प्लेटफर्म सार्वजनिक गरेका हुन्। यो प्लेटफर्मले जापानमा काम गरिरहेका विदेशी विशेषज्ञहरूले भोग्नुपरेका चुनौतीहरू साझा गर्ने, करिअर सहयोग उपलब्ध गराउने र उनीहरूलाई उपयुक्त रोजगारदातासँग भेटाउन विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ ।

यस अभियानमा ओसाका विश्वविद्यालय, क्युशु विश्वविद्यालय लगायत अन्य ६ वटा विश्वविद्यालयहरू, नारा प्रान्तीय सरकार र २७ वटा निजी कम्पनीहरू (विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स र सेमिकन्डक्टर निर्माता) सहभागी छन् । ओकिनावाका भौतिकशास्त्रका प्रोफेसर तथा ग्राजुएट स्कूलका डिन थोमस बुशले एक पत्रकार सम्मेलनमा भने, ‘उच्च गुणस्तरका अन्तर्राष्ट्रिय प्रतिभालाई आकर्षित र सशक्त बनाउँदा नयाँ विशेषज्ञता र विविध दृष्टिकोण प्राप्त हुन्छ, जसले विश्व मञ्चमा राष्ट्रको प्रतिस्पर्धात्मक क्षमतालाई बलियो बनाउँछ ।’

नारामा हाल ५० प्रतिशत र ओकिनावामा ७७ प्रतिशत विद्यावारिधि विद्यार्थीहरू विदेशी रहेका छन्, जुन जापानको राष्ट्रिय औसत (२०-३० प्रतिशत) भन्दा निकै बढी हो । विश्वविद्यालय र व्यावसायिक क्षेत्रको यो सक्रियता यस्तो समयमा आएको छ, जब जापान सरकारले सन् २०२७ देखि लागू हुने गरी विदेशी विद्यावारिधि विद्यार्थीहरूलाई दिइँदै आएको वार्षिक २४ लाख येन (करिब १६,००० डलर) को वित्तीय अनुदान कटौती गर्ने विवादास्पद निर्णय गरेको छ ।

आलोचकहरूका अनुसार यो निर्णयले जापानको विज्ञान र प्रविधि क्षेत्रको साखलाई थप कमजोर बनाउनेछ । विकसित राष्ट्रहरूमध्ये जापान मात्र यस्तो देश हो जहाँ विद्यावारिधि गर्नेहरूको सङ्ख्या निरन्तर घटिरहेको छ। यस्तो अवस्थामा विदेशी विद्यार्थीलाई दिइने आर्थिक सहयोग रोक्दा ‘प्रतिभाको दौड’ मा जापान धेरै पछि पर्ने विज्ञहरूको चेतावनी छ ।

तपाईको प्रतिक्रिया