काठमाडौँ – यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। विभागले ट्राफिक जाम, वायु प्रदूषण र सडकमा बढ्दो सवारी चापलाई मुख्य कारण देखाउँदै अर्को सूचना जारी नभएसम्म दर्ता रोक्ने जनाएको हो।
विभागका निर्देशक मणिराम भुसालद्वारा जारी परिपत्र सातै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहमा पठाइएको छ। निर्णयअनुसार पेट्रोलियम इन्धनबाट चल्ने सवारी मात्र होइन, विद्युतीय सार्वजनिक सवारीको नयाँ दर्तासमेत रोकिएको छ।
विभागले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन प्रभावकारी हुन नसक्नु, अत्यधिक प्रदूषण, ट्राफिक समस्या र इन्धनको बढ्दो मूल्यका कारण यातायात सञ्चालनमा कठिनाइ बढ्दै गएको उल्लेख गरेको छ। यी समस्यालाई मध्यनजर गर्दै तत्कालका लागि नयाँ दर्ता रोकिएको विभागको भनाइ छ।








