काठमाडौँ – भारतमा हुने साफ महिला च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली महिला फुटबल टोलीलाई सरकारले औपचारिक बिदाइ गरेको छ। बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्।
मन्त्री पोखरेलले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेर फर्किने विश्वास व्यक्त गरे। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, एन्फा अध्यक्ष प्रकाशविक्रम नेम्वाङ लगायत खेल क्षेत्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्तर्गत आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल मे २५ मा भुटानसँग खेल्नेछ भने दोस्रो खेल मे ३१ मा श्रीलंकासँग हुनेछ।
छ टोली सहभागी प्रतियोगितामा नेपाल, श्रीलंका र भुटान समूह ‘ए’ मा छन्। आयोजक भारत, बंगलादेश र माल्दिभ्स समूह ‘बी’ मा रहेका छन्। दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जुन ६ मा हुनेछ। एन्फाले गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली यसअघि नै घोषणा गरिसकेको छ।








