Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – बेलायतका लागि जापानी राजदूत हिरोशी सुजुकी यतिबेला त्यहाँका नागरिकहरूका लागि कौतुहल र चर्चाको केन्द्र बनेका छन् । बेलायती संस्कृति, खानपान र स्थानीय जनजीवनप्रति उनले देखाएको उत्साह र सादगीले उनलाई सामाजिक सञ्जालको ‘सुपरस्टार’ बनाएको छ ।

राजदूत सुजुकीले वेल्सको राष्ट्रिय गान गाएको भिडियो होस् वा बेलायतका विभिन्न क्षेत्रका स्थानीय लवज नक्कल गर्ने उनको प्रयास, इन्टरनेटमा उनलाई माया गर्नेहरूको ओइरो लागेको छ । धेरै बेलायतीहरूले टिप्पणी गरेका छन् कि सुजुकीले उनीहरूलाई आफ्नै देशको गौरवमय सम्पदा र उपलब्धिको सम्झना गराइरहेका छन्, जुन कतिपय अवस्थामा स्वयं बेलायतीहरूले नै बिर्सिसकेका थिए ।

सन् २०२४ को नोभेम्बरमा लण्डन आएका ६४ वर्षीय सुजुकीका ‘एक्स’ (पहिलेको ट्विटर) मा मात्रै २ लाख २० हजारभन्दा बढी फलोअर भइसकेका छन् । उनका भिडियोहरू युवाहरूमाझ लोकप्रिय टिकटक जस्ता एपहरूमा पनि भाइरल हुने गरेका छन् ।

लामो समय पूर्व प्रधानमन्त्री सिन्जो आवेको स्वकीय सचिवका रूपमा काम गरेका यी अनुभवी कूटनीतिज्ञ बेलायतको जुन क्षेत्रमा पुग्छन्, त्यहाँको स्थानीय लवजमा कुरा गर्न खोज्छन् । लिभरपुल पुग्दा उनले त्यहाँको लवजमा पेय पदार्थलाई ‘बेभी’ भनेर सम्बोधन गरे भने म्यानचेस्टरमा स्थानीय बियर पिएपछि त्यहाँको प्रसिद्ध थेगो ‘बाइ एक’भन्दै प्रशंसा गरे । उनको सबैभन्दा चर्चित भिडियोमध्ये एक वेल्सको राष्ट्रिय गान त्यहीँको भाषामा गाउनु थियो। उनको यो कदमलाई बेलायतीहरूले निकै सम्मानका साथ हेरेका छन् ।

राजदूत सुजुकीले विश्वप्रसिद्ध बेलायती काल्पनिक पात्र ‘प्याडिङ्टन बियर’को खेलौनालाई आफ्नो ‘मैत्री राजदूत’ बनाएका छन् । उनले सो खेलौनालाई जापान भ्रमणमा समेत पठाएका छन् । सुजुकी भन्छन्, ‘प्याडिङ्टनमार्फत म बेलायती जनता र संस्कृतिप्रति मेरो प्रेम व्यक्त गर्छु, किनभने जापानीहरू बेलायती संस्कृतिलाई निकै माया गर्छन् ।’

सुजुकीको टोलीले बेलायतको प्रशंसा गर्दै गर्दा चलाखीपूर्ण तरिकाले जापानको पनि प्रवर्द्धन गरिरहेको छ। वेल्सको राष्ट्रिय दिवसमा उनले जापानी कागजबाट बनेको ‘ओरिगामी’ फूल प्रदर्शन गरे भने स्कटल्याण्डको सेन्ट एन्ड्रुज डे मा परम्परागत जापानी कागज ‘वासी’ बाट बनेका फूलहरू प्रयोग गरे ।

डिजिटल क्रिएटर जो फोस्टर भन्छन्, ‘राजदूत सुजुकीले मलाई बेलायती भएकोमा कुनै पनि राजनीतिज्ञले भन्दा बढी गर्व महसुस गराउनुभएको छ ।’ यस्तै, ‘सन्डे टाइम्स’ का स्तम्भकार मार्क अर्बनका अनुसार सुजुकीको सफलताको रहस्य उनको ‘मौलिकता र जोखिम लिने क्षमता’ हो । अर्बन भन्छन्, ‘एक वरिष्ठ कूटनीतिज्ञ भएर पनि उनी मानिसहरूले के भन्लान् भन्ने डर नमानी ठट्टा गर्न र रमाइलो सामग्री बनाउन तयार छन् ।’

नटिंगघम ट्रेन्ट युनिभर्सिटीका सिनियर लेक्चरर कोलिन अलेक्जेन्डर भने यसलाई ‘हेलो किट्टी’ शैलीको कूटनीति भन्न रुचाउँछन् । उनी भन्छन्, ‘यो एक प्रकारको ‘सफ्ट पावर’ को अभ्यास हो, जसमा राजदूतले आफूलाई र आफ्नो देशलाई जनताको प्रिय बनाउन खोजिरहेका छन् ।’

तपाईको प्रतिक्रिया