Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको वैदेशिक व्यापार र लगानीको ऐना मानिने ‘चालु खाता’ बचतले लगातार तेस्रो वर्ष नयाँ रेकर्ड कायम गरेको छ । सन् २०२६ मार्चमा समाप्त भएको आर्थिक वर्ष २०२५ मा जापानको चालु खाता बचत ३४.५२ खर्ब येन (करिब २१९ अर्ब डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार, चिप (सेमिकन्डक्टर) को बलियो निर्यात र वैदेशिक लगानीबाट प्राप्त उच्च प्रतिफलका कारण बचतमा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतको वृद्धि देखिएको हो । जापानको वस्तु व्यापार सन्तुलन पाँच वर्षपछि पहिलोपटक नाफा (बचत) मा फर्किएको छ । ताइवान र अन्य एसियाली मुलुकहरूमा सेमिकन्डक्टर लगायतका विद्युतीय उपकरणको उच्च मागका कारण निर्यात ३.३ प्रतिशतले बढेर १११.३५ खर्ब येन पुगेको छ ।

अर्कोतर्फ, कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटले आयातको कुल लागत ०.८ प्रतिशतले घटाउँदै १०९.९८ खर्ब येनमा सीमित गरिदिएको छ । यसले गर्दा अघिल्लो वर्ष ३.०३ खर्ब येन घाटामा रहेको वस्तु व्यापार यस वर्ष १.३६ खर्ब येन बचतमा रहन सफल भयो ।

जापानी ‘येन’ कमजोर हुनु जापानको चालु खाताका लागि वरदान सावित भएको छ । विदेशमा गरिएको लगानीबाट प्राप्त हुने आम्दानी २.१ प्रतिशतले बढेर ४२.२८ खर्ब येन पुगेको छ । विशेष गरी युरोको तुलनामा येनको अवमूल्यन हुँदा विदेशबाट प्राप्त हुने लाभांश र ब्याजको येनमा हुने मूल्य बढ्न गएको हो । आर्थिक वर्ष २०२५ मा येन डलरको तुलनामा औसत १५०.७२ र युरोको तुलनामा १७४.७८ को स्तरमा रहेको थियो ।

सेवा व्यापारतर्फ भने जापानले ३.८८ खर्ब येनको घाटा बेहोरेको छ । विदेशमा अनुसन्धान र विकासका लागि गरिएको भुक्तानी बढ्दा यो घाटा अघिल्लो वर्षभन्दा ७४१ अर्ब येनले बढेको हो । पर्यटन बचत ६.५७ खर्ब येनमा सीमित भएको छ। जापान आउने विदेशी पर्यटकहरूको सङ्ख्यामा उत्साहजनक वृद्धि भए तापनि विदेश भ्रमणमा निस्कने जापानी नागरिकहरूको सङ्ख्या बढ्दा पर्यटन बचतमा सामान्य कमी आएको वित्त मन्त्रालयले जनाएको छ ।

फेब्रुअरी २८ देखि सुरु भएको इरान र अमेरिका–इजरायल द्वन्द्वको पूर्ण प्रभाव यस वार्षिक प्रतिवेदनमा अझै देखिन बाँकी छ। यद्यपि, मार्च महिनाको तथ्याङ्कले मध्यपूर्वी क्षेत्रसँगको व्यापार १० प्रतिशतले घटेको देखाएको छ । मार्च महिनामा मात्रै जापानले ४.६८ खर्ब येनको चालु खाता बचत गरेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २९.१ प्रतिशतले बढी हो ।

तपाईको प्रतिक्रिया