काठमाडौँ – डोनाल्ड ट्रम्प चीन भ्रमणमा निस्किएका छन्। ट्रम्पको यस भ्रमणलाई लिएर जापान पनि निकै उत्साहित देखिएको जापानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। जापानले अमेरिका–चीन सम्बन्ध सुधार र क्षेत्रीय तनाव कम हुने अपेक्षा गरेको बताइएको छ।यसअघि अमेरिकी वित्तमन्त्री स्कट बेसेन्ट जापान पुगेर प्रधानमन्त्री सानाए ताकाइची सँग भेट गरेका थिए। त्यस क्रममा जापानले चीनसम्बन्धी आफ्नो धारणा ट्रम्पसम्म पुर्याएको हुन सक्ने चर्चा भइरहेको छ।
ट्रम्पले मे १४ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ सँग उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा अमेरिका–चीन व्यापार सम्बन्ध, इरानको अवस्था, होर्मुज जलडमरू क्षेत्रको तनाव र ताइवानसम्बन्धी विषय मुख्य रूपमा उठ्ने अपेक्षा गरिएको छ। भ्रमणअघि ट्रम्पले चीनसँग व्यापार र बजार खुलापनबारे गम्भीर छलफल हुने बताएका छन्। उनले चीनलाई अझ खुला बजार नीति अपनाउन आग्रह गर्ने संकेतसमेत दिएका छन्।
भ्रमण टोलीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, टेस्ला का प्रमुख इलोन मस्क, एनभिडियाका प्रमुख कार्यकारी जेन्सन हुआङ तथा एप्पलका प्रमुख कार्यकारी टिम कुक पनि सहभागी रहेको बताइएको छ। विशेषगरी इरान र होर्मुज क्षेत्रमा देखिएको तनाव तथा ताइवानलाई अमेरिकी हतियार बिक्रीको विषयले अमेरिका–चीन सम्बन्धमा थप चासो बढाएको विश्लेषण गरिएको छ।








