Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ अचानक हलबाट बाहिरिएपछि राजनीतिक वृत्तमा सनसनी मच्चिएको छ । सोमबारको यस घटनालाई धेरैले ‘अमर्यादित र असंसदीय’ भन्दै सामाजिक सञ्जाल र राजनीतिक मञ्चहरूमा तीव्र आलोचना गरेका छन् ।

प्रधानमन्त्रीको यस्तो व्यवहारलाई कतिपयले आकस्मिक अवस्था हुन सक्ने भन्दै ‘शङ्काको लाभ’ दिए पनि सरकार वा उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मङ्गलबारसम्म यसबारे कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र दलका पदाधिकारीहरूले पनि यसबारे प्रतिक्रिया दिन इन्कार गरेका छन् ।

पूर्वउपसभामुख एवं पूर्वकानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले संसद् निर्धारित नियम र मर्यादामा चल्नुपर्ने र प्रधानमन्त्रीले त्यसको पालना गर्नुपर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘राष्ट्रपति वा अरूले सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री वा सांसदहरूले बीचमै छोडेर हिँड्न मिल्दैन । संसारभरको र नेपालको पनि संसदीय अभ्यास यही हो ।’

प्रधानमन्त्रीले आफैँले राष्ट्रपतिलाई सुम्पेको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा अन्तिमसम्म बस्ने धैर्य नदेखाएको भन्दै विज्ञहरूले आश्चर्य प्रकट गरेका छन् । करिब डेढ घण्टा लामो कार्यक्रमको भिडिओ रेकर्डअनुसार प्रधानमन्त्री बालेनले करिब ४० मिनेटजति मात्र सम्बोधन सुनेका थिए । भिडिओमा ५५ मिनेटसम्म देखिएका उनी त्यसपछि आफ्नो कुर्सीबाट हराएको देखिन्छ । राष्ट्रपतिको बिदाइ र धन्यवाद ज्ञापन प्रस्ताव पारित हुने बेलासम्म पनि उनी फर्किएका थिएनन् ।

पूर्वकानुनमन्त्री नीलाम्बर आचार्यले यसलाई गम्भीर घटना मान्दै प्रधानमन्त्रीले राष्ट्रपति र संसद्को मर्यादा उल्लङ्घन गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री व्यक्ति मात्र नभएर एउटा संस्था हो । उनीबाट जुन सम्मानको अपेक्षा गरिन्छ, त्यो पूरा भएन । यसले गलत उदाहरण प्रस्तुत गरेको छ ।’ उनले प्रधानमन्त्रीले आफ्नो यो व्यवहार सच्याउनुपर्ने र भुल स्वीकार गर्नुपर्नेमा जोड दिए ।

बैठकमा नेकपा एमालेका नेता गुरु बरालले प्रधानमन्त्रीको व्यवहारलाई ‘बहिष्कार’ को रूपमा अर्थ्याउँदै नीति र कार्यक्रमप्रति प्रधानमन्त्रीको स्वामित्वमाथि प्रश्न उठाएका थिए । मङ्गलबारको बैठकमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले पनि प्रधानमन्त्रीको व्यवहारप्रति कडा आपत्ति व्यक्त गरे ।

प्रधानमन्त्री निर्वाचित भएयता राष्ट्रपतिसँगको शिष्टाचार भेटमा नगएको र राष्ट्रपतिले एउटा अध्यादेश पुनर्विचारका लागि फर्काएको पृष्ठभूमिमा यो घटनालाई नियतवश गरिएको कतिपयको विश्लेषण छ । कसैले यसलाई प्रधानमन्त्री र राष्ट्रपतिबीचको व्यक्तिगत वा संस्थागत तनावको परिणाम मानेका छन् भने कसैले ‘नयाँपन’ देखाउने नाममा गरिएको गैरजिम्मेवार व्यवहार भनेका छन् ।

शिवमाया तुम्बाहाम्फेका अनुसार संविधान र कानुनमा टेकेर नयाँपन देखाउनु राम्रो भए पनि नियमसङ्गत ढङ्गले चल्नुपर्ने हुन्छ । उनले भनेकी छन्, ‘आफूले नजानेको भए जानेको मान्छेलाई सोध्नुपर्छ र नियमावली पढ्नुपर्छ, जथाभाबी हिँड्न मिल्दैन ।’

तपाईको प्रतिक्रिया