Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – डलरको तुलनामा जापानी मुद्रा ‘येन’को तीव्र अवमूल्यन रोक्न जापानले गरेको बजार हस्तक्षेपपछि जापान र अमेरिकाले मुद्रा बजारको उतारचढाव नियन्त्रण गर्न ‘निकट समन्वय’ गर्ने प्रतिबद्धता जनाएका छन् । जापानी अर्थमन्त्री सात्सुकी कातायामा र उनका अमेरिकी समकक्षी स्कट बेसेन्टबीच मंगलबार टोकियोमा भएको वार्तामा यस्तो सहमति भएको हो  ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण सुरक्षित  लगानीका रूपमा डलरको माग बढ्दा येन दबाबमा परेपछि जापानले अप्रिल ३० र मे महिनाको सुरुमा बजारमा हस्तक्षेप गरी येन खरिद गरेको थियो । अर्थमन्त्री कातायामाले पत्रकारहरूसँग भन्नुभयो, ‘हालैका मुद्रा उतारचढावका सम्बन्धमा हामीबीच राम्रो समन्वय छ र जापानको कदमलाई अमेरिकाले पूर्ण समर्थन गरेको छ ।’

अमेरिकी अर्थमन्त्री बेसेन्टले पनि अत्यधिक उतारचढाव अवाञ्छनीय रहेको बताउँदै जापानी अर्थतन्त्रको जग बलियो रहेको र त्यसको सकारात्मक प्रभाव विनिमय दरमा देखिने विश्वास व्यक्त गर्नुभयो ।

बेसेन्टको यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबारदेखि बेइजिङमा हुन लागेको दुई दिने शिखर वार्ताको पूर्वसन्ध्यामा भएको हो । मंगलबार नै बेसेन्टले प्रधानमन्त्री सानाए ताकाइचीसँग पनि भेटवार्ता गर्नुभयो । भेटमा आसन्न अमेरिका–चीन शिखर वार्ता, जापानको अमेरिकामा लगानी र महत्वपूर्ण खनिजहरूको आपूर्ति सञ्जालबारे छलफल भएको थियो ।

वार्ताको अर्को मुख्य एजेन्डा महत्वपूर्ण खनिजहरूको आपूर्तिमा चीनमाथिको निर्भरता घटाउनु थियो। आगामी हप्ता पेरिसमा हुने ‘जी-७’ अर्थमन्त्रीहरूको बैठकअघि दुई देशले खनिज सुरक्षामा सहकार्य गर्ने सहमति गरेका छन् । चिनियाँ निर्यात नियन्त्रणका बारेमा बोल्दै अर्थमन्त्री कातायामाले भन्नुभयो, ‘चीनले जापानमाथि लगाएको उपायहरू भयानक र अन्यायपूर्ण छन्, अमेरिकाले यो विषय चीनसँगको वार्तामा जोडका साथ उठाउने आश्वासन दिएको छ ।’

ताइवान मुद्दालाई लिएर जापान र चीनबीच कूटनीतिक चिसोपना बढेपछि बेइजिङले नागरिक र सैन्य दुवै प्रयोजनमा आउने ‘रेयर अर्थ’ लगायतका सामग्रीको निर्यातमा कडाइ गरेको छ । दुवै देशका अर्थमन्त्रीहरूले अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिबाट सिर्जना हुन सक्ने खतराका बारेमा पनि छलफल गर्नुभयो ।

विशेष गरी ‘एन्थ्रोपिक’ कम्पनीको ‘क्लोद मिथोस’ जस्ता उन्नत मोडेलहरूले वित्तीय प्रणाली र प्राविधिक पूर्वाधारमा रहेका कमजोरीहरू पहिचान गर्न सक्ने क्षमता राख्ने भएकाले यसको दुरुपयोग हुन सक्नेमा उहाँहरूले चिन्ता व्यक्त गर्नुभयो ।’चीनले यस्ता प्रविधिहरू ६ महिना वा एक वर्षभित्रै विकास गर्न सक्छ,’ कातायामाले चेतावनी दिँदै भन्नुभयो, ‘हाम्रा सहयोगी नभएका राष्ट्रहरूले यसलाई हतियारको रूपमा प्रयोग नगरून् भन्नका लागि पश्चिमी देशहरूबीच कडा समन्वय आवश्यक छ ।’

यो वार्ताले जापान र अमेरिकाबीचको आर्थिक र सामरिक सम्बन्धलाई थप मजबुत बनाएको छ । येनको कमजोरीका कारण इन्धन र कच्चा पदार्थको आयात महँगो भई जापानी घरपरिवारमा परिरहेको भारलाई कम गर्न यो समन्वय निकै महत्वपूर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया