टोकियो – प्रधानमन्त्री सानाए ताकाइचीले जापानको वर्तमान क्यास रजिस्टर प्रणालीको असक्षमताप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन् । करको दरमा हुने परिवर्तनलाई तत्काल आत्मसाथ गर्न नसक्ने प्राविधिक प्रणालीलाई जापानका लागि लज्जास्पदको संज्ञा दिएकी हुन् ।
सोमबार माथिल्लो सदनको लेखासमिति बैठकमा बोल्दै प्रधानमन्त्री ताकाइचीले संकटकालीन अवस्थामा करको दरमा लचिलोपन अपनाउन नसकिने वर्तमान व्यवस्थालाई सुधार गर्नुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री ताकाइचीले भनिन्, ‘प्रणालीगत समस्याका कारण करको दर तुरुन्तै फेर्न नसक्नु जापान जस्तो प्रविधिमैत्री देशका लागि लज्जास्पद विषय हो। कुनै महामारी वा ठूला प्राकृतिक विपत्ति आइपर्दा नागरिकलाई राहत दिन करको दर लचिलो बनाउन खोज्दा पनि प्राविधिक कारणले रोकिनु पर्ने अवस्था हुनु निरीहता हो ।’
खाद्य सामग्री लगायतका वस्तुमा करको दर हेरफेर गर्ने सम्बन्धमा सरकारले सफ्टवेयर कम्पनीहरूसँग परामर्श गरेको थियो। कम्पनीहरूका अनुसार, यदि करको दरलाई शून्य प्रतिशतमा झार्ने हो भने बिलिङ प्रणाली परिमार्जन गर्न करिब एक वर्षको समय लाग्ने देखिएको छ । त्यसैगरी, करलाई १ प्रतिशतमा झार्नका लागि पनि कम्तीमा ३ देखि ६ महिनासम्म लाग्ने अनुमान गरिएको छ ।
यस्तो ढिलो सुस्तीले आपतकालीन अवस्थामा सरकारको राहत प्याकेज कार्यान्वयनमा ढिलाइ हुने देखिएपछि प्रधानमन्त्रीले आक्रामक रूपमा सफ्टवेयर विकासको माग गरेएकी हुन् । प्रधानमन्त्री ताकाइचीले विभिन्न करका दरहरूमा सहजै र तुरुन्तै परिवर्तन गर्न सकिने लचिलो बिलिङ प्रणालीको विकास गर्न सम्बन्धित निकाय र कम्पनीहरूलाई आग्रह गरिन् ।








