टोकियो – डलरको तुलनामा जापानी मुद्रा ‘येन’ मा देखिएको उतारचढाव र सरकारले चाल्न सक्ने सम्भावित कदमका कारण वैदेशिक मुद्रा बजारका लगानीकर्ताहरू यतिबेला निकै सतर्क देखिएका छन् । अप्रिलको अन्त्यमा जापान सरकारले गरेको ठूलो बजार हस्तक्षेपपछि विगत एक हप्तादेखि येन प्रति डलर १५६ को हाराहारीमा कारोबार भइरहेको छ ।
येनको भाउ घटेर प्रति डलर १६० को ऐतिहासिक न्यून विन्दुमा पुगेपछि जापान सरकार र केन्द्रीय बैंक (बैंक अफ जापान) ले येन खरिद र डलर बिक्री गरेर बजारमा सिधा हस्तक्षेप गरेका थिए । सरकारको उक्त कदमले जापानी मुद्रालाई केही समयका लागि १५५ को तहमा फर्काउन सफल भएको थियो ।
हस्तक्षेपको केही समयपछि येन पुनः कमजोर भई प्रति डलर १५७ को तहमा पुगेको थियो । तर, मे १, ४ र ६ तारिखमा येनको मूल्यमा देखिएको अप्रत्याशित र तीव्र वृद्धिले बजारमा नयाँ बहस छेडिदिएको छ । लगानीकर्ताहरूले सरकारले येनलाई थप खस्कन नदिन गोप्य रूपमा वा पटक-पटक बजारमा हस्तक्षेप गरिरहेको आशङ्का गरेका छन् ।
गएको हप्ताभरि येन १५६ को आसपासमा कारोबार भइरहँदा व्यापारीहरूमाझ ‘फेरि कुनै पनि बेला सरकारले डलर फाल्न सक्छ’ भन्ने त्रास र सतर्कता देखिएको छ । मुद्रा बजारका विश्लेषकहरूका अनुसार, मध्यपूर्वमा जारी इरान द्वन्द्वका कारण उत्पन्न विश्वव्यापी अनिश्चितताले यो हप्ता पनि बजार तनावपूर्ण रहनेछ । डलरलाई सुरक्षित लगानी मानिने हुनाले अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढिरहँदा येनलाई जोगाउनु जापानका लागि ठूलो चुनौती बनेको छ ।








