टोकियो – जापानको नागोया सहरमा एक महिलाले ट्याक्सी चालकलाई कैँची देखाएर धम्क्याउँदै नगद लुटपाट गरेकी छिन् । शुक्रबार राति भएको उक्त घटनामा ती महिलाले ट्याक्सी भाडा समेत नतिरी पैसा लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
घटना नागोयाको निसी वार्डमा राति करिब ११:५५ बजे घटेको हो । ३४ वर्षीय पुरुष चालकले चलाइरहेको ट्याक्सीमा सवार ती महिलाले अचानक कैँची निकालेर धम्क्याएपछि चालकले गाडी रोकेका थिए । प्रहरीका अनुसार ती महिलाले सुरुमा चालकसँग १ लाख येन माग गरेकी थिइन् ।
तर चालकसँग त्यति धेरै रकम नभएपछि उनले चालकसँग भएको ५ हजार येन नगद लुटिन् । त्यसपछि ३,२०० येन ट्याक्सी भाडा समेत नतिरी उनी गाडीबाट ओर्लेर पैदलै फरार भइन् । लुटपाटको क्रममा चालकलाई कुनै शारीरिक चोटपटक भने लागेको छैन ।
प्रहरीले चालकको बयानका आधारमा अभियुक्त महिलाको हुलिया सार्वजनिक गरेको छ । ती महिला ६० वर्षको हाराहारीको उमेरकी, दुब्लो शरीर भएकी र करिब १६० सेन्टिमिटर उचाइकी छिन् । उनको सबैभन्दा विशिष्ट पहिचान भनेको ‘लामो गुलाबी कपाल’ रहेको प्रहरीले जनाएको छ ।








