Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – युक्रेनमा जारी युद्ध र मध्यपूर्वको अस्थिरताका बीच जापानले रूससँगको आर्थिक सम्बन्धलाई पुनः सुचारु गर्ने संकेत दिएको छ । युक्रेन युद्ध अन्त्य भएपछिको व्यापारिक अवसरहरूको जग बसाल्ने उद्देश्यले जापानले यसै महिनाको अन्त्यमा एक उच्चस्तरीय आर्थिक प्रतिनिधिमण्डल रूस पठाउने तयारी गरिरहेको सरकारी स्रोतहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले मे २६ देखि सुरु हुने दुई दिने भ्रमणका लागि ‘मित्सुई एन्ड कम्पनी’ र ‘मित्सुई ओएसके लाइन्स’ जस्ता ठूला व्यापारिक तथा ढुवानी कम्पनीका उच्च अधिकारीहरूलाई समावेश गरी प्रतिनिधिमण्डल पठाउने प्रस्ताव गरेको छ । यस टोलीमा ‘मित्सुबिसी कर्पोरेसन’ पनि सहभागी हुने सम्भावना छ ।

यस टोलीले मस्कोमा रूसी उद्योग तथा व्यापार मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । युक्रेनमा रूसको आक्रमण पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला र रूसमाथि कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू कायमै रहँदा जापानको यो कदमलाई निकै चासोका साथ हेरिएको छ । यद्यपि, केही जापानी कम्पनीहरूले वर्तमान भूराजनीतिक परिस्थितिका कारण यो भ्रमणप्रति सतर्कता अपनाएका छन् ।

जापानको यस नीतिगत परिवर्तनको मुख्य कारण मध्यपूर्वको ऊर्जा संकटलाई मानिएको छ। फेब्रुअरीको अन्त्यदेखि सुरु भएको इरान र इजरायल-अमेरिका द्वन्द्वका कारण ‘हर्मुज जलडमरू’ प्रभावकारी रूपमा बन्द भएपछि जापानको ऊर्जा सुरक्षामा गम्भीर प्रश्न उठेको छ । आफ्नो ९० प्रतिशत कच्चा तेल आयातका लागि मध्यपूर्वमा निर्भर रहेको जापानले यसै महिनाको सुरुमा रूसबाट कच्चा तेल आयात सुरु गरेको थियो ।

दिवंगत पूर्व प्रधानमन्त्री सिन्जो आवेले सन् २०१६ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आर्थिक सहकार्यको ८ बुँदे योजना प्रस्ताव गर्नुभएको थियो । आवेका राजनीतिक चेली मानिने प्रधानमन्त्री ताकाइचीले सोही पुरानो सम्बन्धलाई रणनीतिक रूपमा प्रयोग गर्न खोजेको देखिन्छ । आवेले आफ्नो कार्यकालमा पुटिनसँग २७ पटक भेटवार्ता गर्नुभएको थियो ।

यसअघि अप्रिलमा जापानी मुख्य क्याबिनेट सचिव मिनोरु किहारा र परराष्ट्रमन्त्री तोशिमित्सु मोटेगीले रूसमा व्यापारिक टोली पठाउने खबरहरूको खण्डन गरेका थिए । तर, हालैका घटनाक्रमहरूले टोकियो र मस्कोबीच संवादको ढोका बिस्तारै खुल्न थालेको सङ्केत गर्दछ ।

रूससँग लामो समयदेखि निकट सम्बन्ध रहेका जापानी सांसद मुनेओ सुजुकीले पनि हालै मस्को भ्रमण गरी रूसी उपपरराष्ट्रमन्त्री आन्द्रे रुदेन्कोसँग भेट गर्नुभएको थियो । रुदेन्कोले जापान इच्छुक भएमा रूस परराष्ट्रमन्त्री स्तरीय वार्ताका लागि तयार रहेको सन्देश दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया