
मुटुको ढुकढुकी एक्कासी बढ्यो । खल्ती छामेँ, रित्तो थियो । केही समयअघि मात्र हातमा रहेको मोबाइल फोन कतिबेला हरायो, पत्तै भएन । त्यो बेला म यामानासी केनस्थित पर्यटकीय सहर कावागुचीकोको एउटा सुपरमार्केटमा थिएँ । विदेशी भूमिमा मोबाइल हराउनु भनेको केवल एउटा महँगो ग्याजेट हराउनु मात्र होइन, सबैजसो सम्पर्क, बैंक एकाउन्ट, नक्सा र धेरै निजी सूचनाहरू हराउनु जस्तै हो ।
विश्वका अधिकांश सहरहरूमा यदि तपाईंको वालेट वा मोबाइल फोन कतै खस्यो भने, त्यसलाई फिर्ता पाउने आशा निकै कम हुन्छ । मैले पनि मोबाइल भेटिने आश लगभग मारिसकेको थिएँ । झिनो आश बोकेर मैले नजिकैको ‘कोबान’ (प्रहरी चौकी) मा गएर रिपोर्ट लेखाएँ । प्रहरी अधिकारीको शान्त र सहयोगी व्यवहारले थोरै भरोसा त दियो, तर मनमा चिसो कायमै थियो । त्यो मनको चिसोपना धेरैबेर रहेन, इमेलमा म्यासेज आयो- ‘तपाईको मोबाइल भेटिएको छ, आएर बुझ्नुहोला ।’
सुपरमार्केटमा कसैले मेरो मोबाइल भुइँमा झरेको फेला पारेछ र तुरुन्तै प्रहरीलाई बुझाइदिएछ । यो एउटा घटनाले मलाई जापानको इमानदारिता र यहाँको सामाजिक संरचनाका बारेमा गहिरोसँग सोच्न बाध्य बनायो । यो केवल मेरो एउटा अनुभव मात्र होइन, जापानमा बसोबास गर्ने लाखौँ विदेशी र स्वयम् जापानीहरूको दैनिक यथार्थ हो।
तथ्यांकले कहिल्यै झुटो बोल्दैन । हालै सार्वजनिक भएको सन् २०२५ को तथ्यांक हेर्ने हो भने टोकियो महानगरीय प्रहरी विभागमा बुझाइएका हराएका सामानहरूको विवरणले विश्वलाई नै अचम्ममा पार्छ । गत वर्ष मात्रै टोकियोमा करिब ४८ लाख थान हराएका सामानहरू सर्वसाधारणले प्रहरीलाई बुझाएका छन् ।
यसमध्ये सबैभन्दा बढी ३ लाख ३० हजार भन्दा बढी पर्सहरू थिए । अझ नगदको कुरा गर्ने हो भने, मानिसहरूले ४.५ अर्ब येन (करिब २८.३ मिलियन डलर) सडक वा सार्वजनिक स्थलमा फेला पारेर प्रहरीलाई बुझाएका छन् । यो रकम टोकियो प्रहरीको इतिहासकै सबैभन्दा धेरै हो ।
मोबाइल फोनको हकमा पनि अवस्था उस्तै छ । २०२५ मा करिब २ लाख २५ हजार फोन हराएको रिपोर्ट गरिएको थियो, जसमा १ लाख ४४ हजार भन्दा बढी फोन इमानदार नागरिकले बुझाएका थिए । यसको अर्थ, जापानमा सामान हराउनु भनेको सधैँका लागि गुम्नु होइन, बरु केही समयका लागि अलप हुनु मात्र हो ।
जापानमा मानिसहरूले अरूको सामान भेट्दा प्रहरीमा किन बुझाउँछन् ? के यहाँ कडा कानुन छ ? वा के यहाँ सामान बुझाउँदा ठूलो पुरस्कार पाइन्छ ? यी सवालहरु मेरोजस्तै धेरैको मनमा आउनसक्छन्- वास्तवमा, यहाँ न त कुनै कडा कानुनी डर छ, न त पुरस्कारको ठूलो प्रलोभन नै । यो त जापानीहरूको ‘संस्कार’ हो । जापानी समाजमा सानैदेखि एउटा कुरा सिकाइन्छ- ‘अर्काको सामानमा आफ्नो हक हुँदैन ।’
जापानीहरूमा यो एउटा मनोविज्ञान छ कि ‘मैले आज यो सामान बुझाइदिएँ भने हराउने मान्छेको समस्या समाधान हुन्छ ।’ अरूको दुःखमा आफूलाई राखेर हेर्ने यो ‘इम्प्याथी’ नै यहाँको इमानदारिताको मुख्य कडी हो । हाम्रो समाजमा सामान भेट्नेले ‘मैले के पाएँ ?’ भनेर सोच्छन् भने जापानीहरू ‘हराउनेले के गुमायो होला ?’ भनेर सोच्छन् । यही सोचले नै जापानलाई विश्वकै सबैभन्दा विश्वासिलो देश बनाएको छ ।
संस्कारसँगै जापानको भौतिक पूर्वाधारले पनि यो इमानदारितालाई सहयोग पुर्याएको छ । जापानका हरेक टोल, मुख्य सडक र स्टेसनहरूमा ‘कोबान’ भनिने साना प्रहरी बुथहरू हुन्छन् । सामान भेट्ने व्यक्तिले धेरै टाढा जानु पर्दैन, दुई-चार मिनेटको पैदल दूरीमा प्रहरी भेटिन्छ । जापानी प्रहरीको भूमिका केवल अपराध नियन्त्रणमा मात्र सीमित छैन । यदि कोही बाटो हरायो, कसैलाई आकस्मिक मद्दत चाहियो वा कोही वृद्धवृद्धा अलपत्र परे भने कोबानका प्रहरीहरूले अभिभावकको भूमिका निर्वाह गर्छन् । उनीहरूले हराएको सामानको कम्प्युटरकृत प्रणालीमा तुरुन्त दर्ता गर्छन्, जसले गर्दा धनीले सजिलै आफ्नो सामान पहिचान गर्न सक्छ ।
कानुनी रूपमा, यदि कसैले सामान भेटेर बुझायो र ३ महिनासम्म पनि त्यसको धनी भेटिएन भने, त्यो सामान भेट्ने व्यक्तिले नै लिन पाउने व्यवस्था छ । यदि उसले पनि लिन चाहेन भने, थप २ महिनापछि त्यो सामान सरकारको सम्पत्ति बन्छ । यो स्पष्ट कानुनी व्यवस्थाले पनि प्रणालीलाई पारदर्शी बनाएको छ ।
हामी नेपालीहरू ‘अतिथि देवो भवः’ र नैतिकताका कुरामा निकै धनी छौँ, तर व्यवहारमा कता-कता चुकिरहेका हुन्छौँ । जापानको यो ‘लस्ट एण्ड फाउन्ड’ संस्कृतिबाट हामीले सिक्न सक्ने कुरा के हो भने- राज्यप्रति नागरिकको र नागरिकप्रति राज्यको विश्वास तब मात्र बढ्छ, जब प्रणाली इमानदार हुन्छ । जापान बाहिर रहनेहरूका लागि यो एउटा कथा जस्तो लाग्न सक्छ, तर जापानमा बस्ने हामीहरूका लागि यो दैनिक प्रेरणा हो । मेरो मोबाइल ४ घण्टामा भेटिनु कुनै संयोग थिएन, यो त एउटा सिङ्गो सभ्यताको परिचय थियो ।
जहाँ इमानदारिता संस्कार बन्छ र प्रणालीले त्यसलाई साथ दिन्छ, त्यहाँ हराएको सामान मात्र होइन, मानवीय विश्वास पनि कहिल्यै हराउँदैन । त्यसैले त आज जापान विश्वकै सबैभन्दा सुरक्षित र विश्वासिलो गन्तव्यका रूपमा चर्चित छ ।








