काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बाहिरिएका छन्। बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद् बैठकले भट्टराईको स्वतन्त्र रहेर वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सहयोग गर्ने निर्णयलाई सम्मान गर्दै शुभकामना दिएको छ।
पार्टीका अनुसार यसअघि संरक्षकको भूमिकामा रहेका भट्टराईले अब कुनै पनि साङ्गठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रूपमा राजनीतिक गतिविधि गर्ने इच्छा व्यक्त गरेका थिए। बैठकले त्यसलाई व्यक्तिगत निर्णयका रूपमा स्वीकार गरेको जनाएको छ। यस्तै, अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पनि पार्टी सदस्यसमेत नरहने गरी सार्वजनिक धारणा राखेपछि उनलाई आगामी राजनीतिक यात्राका लागि शुभकामना दिने निर्णय गरिएको छ।
बैठकले वर्तमान राजनीतिक अवस्था र पछिल्लो प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै अहिलेको सत्ता र राजनीति मजदुर, श्रमजीवी तथा उत्पीडित समुदायको हितमा नरहेको निष्कर्ष समेत निकालेको छ।








