Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको सञ्चार क्षेत्रका एक प्रतिष्ठित व्यक्तित्व, पूर्व उद्घोषक तथा जापानी राजपरिवार मामिलाका विज्ञ पत्रकार कुनो यासुशीको ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि वृद्धावस्थाका कारण अस्वस्थ रहेका कुनोको गत मे २ तारिखमा कानागावा प्रान्तको योकोहामास्थित निवासमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको हो ।

सन् १९६० मा जापान टेलिभिजनमा प्रवेश गरेका कुनोले एक उत्कृष्ट उद्घोषक र रिपोर्टरको रूपमा आफ्नो पहिचान बनाएका थिए । उनले जापानका धेरै ऐतिहासिक र संवेदनशील घटनाहरूलाई प्रत्यक्ष रूपमा जनतासम्म पुर्‍याएका थिए । विशेषगरी सन् १९७२ को चर्चित ‘आसामा सान्शो’ घटनाका बेला प्रहरीको कारबाहीलाई उनले लगातार ९ घण्टासम्म प्रत्यक्ष प्रसारण गरेका थिए । उक्त समयको उनको साहसी र तथ्यपरक रिपोर्टिङले जापानी टेलिभिजन इतिहासमा एउटा नयाँ मानक स्थापित गरेको थियो ।

कुनो यासुशीलाई विशेष गरी जापानी राजपरिवारका गतिविधिलाई नजिकबाट नियाल्ने र विश्लेषण गर्ने पत्रकारका रूपमा चिनिन्छ । सन् १९८९ मा सम्राट शोवाको देहावसान (स्वर्गारोहण) को समयमा उनले विशेष समाचार कार्यक्रमको मुख्य सञ्चालकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९९० मा स्वतन्त्र पत्रकार (Freelancer) बनेपछि पनि उनले टेलिभिजनमा ‘कोशित्सु निक्की’ नामक लोकप्रिय कार्यक्रम सञ्चालन गरे । उनले राजपरिवारका सदस्यहरूको विशेष अन्तर्वार्ता लिने र उनीहरूको मानवीय पक्षलाई सरल भाषामा सर्वसाधारणसामु प्रस्तुत गर्ने कलामा दख्खल राख्दथे ।

९० वर्षको उमेरमा पनि कुनो राजपरिवार मामिलाको पत्रकारितामा उत्तिकै सक्रिय थिए । उनले जीवनको अन्तिम क्षणसम्म पनि अध्ययन र अनुसन्धानलाई निरन्तरता दिएका थिए । उनको निधनले जापानको पत्रकारिता जगतले एक अनुभवी र निष्ठावान अभिभावक गुमाएको सञ्चारकर्मीहरूले बताएका छन् । उनको अन्त्येष्टि र श्रद्धाञ्जली सभा परिवारका सदस्यहरूको उपस्थितिमा निजी रूपमा सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया