टोकियो – जापानको गुन्मा केन र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी नेपाली राजदूतावास टोकियोले विशेष ‘घुम्ती सेवा’ सञ्चालन गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान र क्षेत्रीय समिति गुन्माको विशेष सहकार्यमा आगामी जुन १४ तारिखका दिन सेवा प्रदान गर्न लागिएको हो ।
टाढा–टाढाबाट राहदानी र कन्सुलर सेवाका लागि टोकियोस्थित दूतावाससम्म धाउनुपर्ने झन्झट र खर्चिलो अवस्थालाई मध्यनजर गर्दै दूतावासले नागरिकको घरदैलोमै पुगेर सेवा दिने तत्परता देखाएको छ । यसपटकको घुम्ती सेवामा विद्युतीय राहदानी (ई-पासपोर्ट) सम्बन्धी सेवालाई मुख्य प्राथमिकतामा राखिएको छ । राहदानी बनाउन चाहने सेवाग्राहीका लागि राजदूतावासले केही प्राविधिक नियमहरू अनिवार्य गरेको छ, जसअनुसार राहदानी विभागको मोबाइल एपमार्फत पहिले नै ‘प्रि-इनरोलमेन्ट बुकिङ’ गरी फाराम डाउनलोड र प्रिन्ट गरेर मात्र कार्यक्रम स्थलमा आउनुपर्नेछ ।
अनलाइन बुकिङ नगरेका सेवाग्राहीलाई सेवा उपलब्ध गराउन नसकिने दूतावासको सूचनामा स्पष्ट पारिएको छ । प्रविधिको प्रयोगमार्फत सेवालाई थप व्यवस्थित र छिटोछरितो बनाउन यो नियम लागू गरिएको दूतावासको भनाइ छ । घुम्ती सेवामार्फत २०२७ जुन १३ सम्म म्याद भएका राहदानीहरूको सहजै नवीकरण गर्न सकिनेछ ।
त्यसका साथै जापानमा जन्मिएका नेपाली बालबालिकाको पहिलोपटक राहदानी बनाउनुपर्ने भएमा वा राहदानी हराएको, नासिएको र अन्य प्राविधिक कारणले प्रयोग गर्न नमिल्ने भएको खण्डमा समेत नयाँ राहदानीका लागि आवेदन दिन सकिनेछ । सेवा लिन आउँदा आफ्नो राहदानीको सक्कल प्रति र अनलाइनमा अपलोड गरिएका सबै कागजातहरूको फोटोकपी अनिवार्य रूपमा साथमा लिएर आउन दूतावासले अनुरोध गरेको छ ।
गुन्मास्थित ओता स्टेशनको ‘इन्साइड हल’मा सञ्चालन हुने उक्त सेवा बिहान ९:३० बजेदेखि सुरु भई साँझ ५:०० बजेसम्म जारी रहनेछ । यस बीचमा दिउँसो १ बजेदेखि २ बजेसम्म भने भोजनको समय रहनेछ । दूतावासले गुन्माको यस सेवाका अतिरिक्त सेन्डाईमा आयोजना हुने अर्को घुम्ती सेवालाई लक्षित गरी जुन ३ बाटै बुकिङ खुला गरिने जानकारी समेत गराएको छ ।
कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न र सेवाग्राहीको सहयोगका लागि राम लाल तामाङ, रिदम रोका मगर, श्रीधर पन्थी, सुस्मिता लामा, सोनाम राई र सरद गिरी लगायतका सम्पर्क व्यक्तिहरू परिचालन गरिएको छ । जापानमा आफ्नो काम र व्यस्तताका बाबजुद राहदानी सम्बन्धी समस्या भोगिरहेका नेपालीहरूका लागि यो घुम्ती सेवा निकै फलदायी हुने विश्वास गरिएको छ ।








