टोकियो – जापानको गुन्मा प्रान्तस्थित सिबुकावा नगरपालिकाका एक कर्मचारी आफ्नै प्रेमिकाको घरमा आगो लगाउने प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । ३९ वर्षीय मासाहिरो इशिदाले ३६ वर्षीया प्रेमिका बस्दै आएको घरको मूल ढोकामा मट्टितेल खन्याएर जलाउन खोजेको प्रहरीले जनाएको छ ।
टीभी आसाहीका अनुसार, घटना आइतबार राति ८ बजेतिरको हो । अभियुक्त इशिदाले सिबुकावास्थित दुईतले काठको घरको प्रवेशद्वारमा करिब ९ लिटर मट्टितेल खन्याएका थिए । उक्त घरमा उनी आफ्नी प्रेमिका र उनका दुई छोरीहरूसँगै बस्दै आएका थिए ।
घरभित्र आमा र इशिदाबीच चर्को विवाद भइरहेको बेला प्रेमिकाकी छोरीले प्रहरीको आपतकालीन नम्बर ११० मा फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन् । सूचना पाउनेबित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले इशिदालाई घरबाहिर हातमा मट्टितेलको जर्किन र लाइटर बोकिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरीले उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।
प्रहरीसँगको प्रारम्भिक सोधपुछमा इशिदाले मट्टितेल खन्याएको कुरा स्वीकार गरे तापनि घर नै जलाउने आफ्नो कुनै नियत नरहेको दाबी गरेका छन् । उनले रिसको झोँकमा त्यसो गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले इशिदाविरुद्ध आगजनीको प्रयास अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको छ ।








