Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – विद्यार्थीहरूले आफ्नै साथीहरूमाथि निर्मम आक्रमण गरेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि जापानमा ‘बुलिङ’को नयाँ र डरलाग्दो रूप बाहिर आएको छ । यी घटनाहरूले प्रहरी अनुसन्धान र विद्यालयहरूको कठोर हस्तक्षेप मात्र निम्त्याएका छैनन्, यसले सामाजिक सञ्जालमार्फत फैलिने हिंसा र अनलाइन दुर्व्यवहारको गम्भीर जोखिमलाई पनि उजागर गरेको छ ।

गत जनवरीमा टोकियोको उत्तरमा पर्ने तोचिगी प्रान्तको एक सरकारी उच्च माध्यमिक विद्यालयमा एक छात्रले अर्को छात्रलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो । डिसेम्बरमा विद्यालयको शौचालयभित्र खिचिएको उक्त भिडियोमा एक छात्रलाई अरू धेरैले घेरेर कुटपिट र लात्ती प्रहार गरेको देखिन्छ । यो भिडियो छोटो समयमै १० करोडभन्दा बढी पटक हेरियो ।

प्रहरीले भिडियोमा देखिएका पात्रहरूको पहिचान गरी अनुसन्धान अगाडि बढाएको छ । उचुनामियाका सरकारी वकिलहरूले शारीरिक चोट पुर्‍याएको आशंकामा ती छात्रलाई ‘पारिवारिक अदालत’मा पठाएका छन् ।

तोचिगीको घटना जस्तै अन्य सहरहरूमा पनि यस्तै प्रकृतिका घटनाहरू सार्वजनिक भएका छन्:-

  • ओइता: यहाँका कनिष्ठ माध्यमिक विद्यालय का विद्यार्थीहरूले एकअर्कालाई आक्रमण गरेका तीनवटा फरक भिडियोहरू बाहिरिएपछि शिक्षा बोर्डले यसलाई ‘गम्भीर बुलिङ’ को श्रेणीमा राखेर छानबिन थालेको छ ।
  • ओसाका: यहाँ एक प्राथमिक विद्यालयका बालकलाई उनका साथीहरूले समुद्रमा धकेलिदिएको भिडियोले सनसनी मच्चाएको थियो ।

यी भिडियोहरू सार्वजनिक भएपछि तोचिगीको शिक्षा बोर्डमा १५०० भन्दा बढी गुनासो र सोधपुछ आएका छन् । इन्टरनेट प्रयोगकर्ताहरूले भिडियोमा संलग्न विद्यार्थीहरूको व्यक्तिगत पहिचान खुलाउने र उनीहरूलाई धम्की दिने क्रम बढेको छ । यसबाट उत्पन्न सुरक्षा चिन्ताका कारण कतिपय विद्यालयका क्लबहरूले निर्धारित खेल प्रतियोगिताहरूबाट समेत नाम फिर्ता लिनुपरेको छ ।

बढ्दो हिंसालाई ध्यानमा राख्दै जापानको शिक्षा मन्त्रालयले मार्च ३ मा बुलिङ रोकथाम र ‘सूचना नैतिकता’ सम्बन्धी विशेष शैक्षिक सामग्रीहरू जारी गरेको छ । बाल सुरक्षा विशेषज्ञ मिएको मियाता भन्छिन्, ‘स्मार्टफोन र सामाजिक सञ्जालको सहज पहुँचले गर्दा विद्यार्थीहरूले यस्ता घटना सजिलै रेकर्ड र सेयर गर्न थालेका छन् । पहिले बुलिङ बन्द कोठा वा गोप्य स्थानमा हुन्थ्यो, तर अब यो सामाजिक सञ्जालका कारण सार्वजनिक र झनै खतरनाक बनेको छ ।’

अधिवक्ता मामि ताकेयामाका अनुसार अनलाइनमा कसैलाई लक्षित गरी पोस्ट गर्नु वा धम्क्याउनु आफैँमा अपराध र मानव अधिकारको गम्भीर उल्लंघन हो । उनी भन्छिन्, ‘डिजिटल संसारमा एकपटक भिडियो अपलोड भएपछि त्यसलाई पूर्ण रूपमा मेटाउन असम्भव हुन्छ, जसले पीडित र दोषी दुवैको भविष्यमा दीर्घकालीन जोखिम निम्त्याउँछ ।’

तपाईको प्रतिक्रिया