समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल वायु सेवा निगमले दुबईमा रोकिएका नेपाली यात्रुलाई स्वदेश फर्काउन आज राति विशेष उडान सञ्चालन गर्ने भएको छ। निगमले जारी गरेको उडान सूचनाअनुसार वाइडबडी विमान आज राति ११ः१५ बजे काठमाडौँबाट दुबईका लागि उड्नेछ। सोही विमानले दुबईमा रोकिएका यात्रुलाई लिएर बिहीबार बिहान ४ः१० बजे काठमाडौँ फर्किने तालिका रहेको छ।
अमेरिका–इरान तनावका कारण उडान प्रभावित भएपछि करिब १२ दिनदेखि दुबईमा अलपत्र परेका यात्रुको उद्धारका लागि यो उडान गर्न लागिएको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार ‘पहिलो आउनेले पहिलो सेवा’ पाउने व्यवस्था लागू गरिनेछ।
आजको उडानबाट करिब २७० देखि २८० जना यात्रु दुबई पुग्ने अनुमान गरिएको छ। विशेष उडान मुख्यतः दुबईमा उद्धारको पर्खाइमा रहेका यात्रुलाई नेपाल फर्काउनका लागि गरिएको हो। निगमका अनुसार फेब्रुअरी २८ देखि मार्च ९ सम्मको टिकट लिएका तर यात्रा गर्न नपाएका यात्रुले मात्र यस उडानमा यात्रा गर्न पाउनेछन्। यात्रुहरूलाई टिकट पुनः प्रमाणित गरी यात्रा गर्न निगमले आग्रह गरेको छ।








