-
भारी जनादेशसँगै रास्वपामाथि आम नागरिकको खबरदारीको आयतन बढेको छ
नेपाली राजनीतिको आकाशमा हालै देखिएको परिवर्तन केवल एउटा दलको विजय मात्र होइन, यो दशकौंदेखि जकडिएको परम्परागत राजनीतिक ‘सिन्डिकेट’ विरुद्धको एउटा सचेत विद्रोह हो । विशेषगरी ‘जेनजी’ अर्थात् नयाँ पुस्ताका लागि यो जित एउटा यस्तो प्रस्थानविन्दु हो, जहाँ हामीले पहिलो पटक राजनीतिमा ‘सम्भव छ’ भन्ने आशाको सञ्चार महसुस गरेका छौं । तर, यो उत्साहसँगै अबका चुनौती र आम नागरिकको खबरदारीको आयतन पनि उत्तिकै बढेको छ ।
हाम्रा अग्रजहरूले ‘बलिदान’ को राजनीति गरे, जसको हामी सम्मान गर्छौं । तर, आजको पुस्ता ‘विकास’ र ‘परिणाम’ को राजनीति चाहन्छ । वर्षौंदेखि ठूला भनिएका दलहरूका भीमकाय आश्वासन र कछुवा गतिको कामबाट वाक्क भएर नै जनताले विकल्पको बाटो रोजेका हुन् । त्यसैले रास्वपाले पाएको यो बहुमत कुनै व्यक्तिप्रतिको अन्धभक्ति होइन, बरु यो त काम नगर्ने पुराना शक्तिप्रतिको चरम वितृष्णा र नयाँसँग गरिएको एउटा ठूलो आशामुखी सम्झौता हो । अब नेपाली जनतालाई आश्वासनको पोको होइन, परिवर्तनको ठोस प्रमाण चाहिएको छ ।
बहुमतको गणित जति उत्साहजनक हुन्छ, त्यसलाई सुशासनमा बदल्नु त्यति नै चुनौतीपूर्ण हुन्छ । अबको सरकारसँग ‘हामीलाई काम गर्न दिइएन’ वा ‘गठबन्धनको बाध्यता’ भन्ने जस्ता रेडिमेड बहाना बनाउने कुनै नैतिक ठाउँ बाँकी छैन । जनताले पूर्ण ‘म्यान्डेट’ दिएका छन् । अबको पाँच वर्षमा केही आधारभूत प्रश्नहरूको उत्तर व्यवहारमै देखिनुपर्छ : के अब भ्रष्टाचारका काला फाइलहरू साच्चै खोलिनेछन् ? के सरकारी अड्डामा जाँदा ‘सोर्स-फोर्स’ विना काम हुने वातावरण बन्नेछ ? के आफ्नै देशमा पसिना बगाउन चाहने युवाका लागि राज्यले सहज ढोका खोल्नेछ ?
हाम्रो पुस्तालाई अब लामा भाषण र सैद्धान्तिक बहससँग कुनै सरोकार छैन । हामीलाई सरोकार छ त केवल ‘डेलिभरी’ सँग । हामी यस्तो नेपालको परिकल्पना गरिरहेका छौं जहाँ :-
- सीपमूलक शिक्षा : विश्वविद्यालयहरू केवल प्रमाणपत्र बाँड्ने कारखाना मात्र नभई बजारको मागअनुसारको जनशक्ति उत्पादन गर्ने केन्द्र बनून् ।
- उद्यमशीलताको वातावरण : एउटा नयाँ ‘स्टार्टअप’ सुरु गर्न चाहने युवाले सरकारी प्रक्रियाको झन्झटिलो चक्रब्युहमा फसेर आफ्नो सपनाको हत्या गर्न नपरोस् ।
- डिजिटल पारदर्शिता : राज्यका हरेक निर्णय र खर्चको विवरण आम नागरिकले आफ्नो मोबाइल स्क्रिनमा हेर्न सक्ने गरी पारदर्शी बनाइयोस् ।
- क्षमताको कदर : पहुँच र नातावादको ठाउँमा ‘मेरिटोक्रेसी’ (क्षमता) ले स्थान पाओस् ।
इतिहास साक्षी छ, जब-जब कुनै दलले स्पष्ट बहुमत पायो, उसमा शक्तिको उन्माद र अहंकार देखियो । हिजोका क्रान्तिकारीहरू कसरी आज ‘नवसामन्त’ मा रूपान्तरित भए भन्ने दृष्टान्त हाम्रै सामुन्ने छ । त्यसैले नवनिर्वाचित प्रतिनिधिहरूलाई मेरो आग्रह छ- यो बहुमतलाई अहंकारको सिँढी होइन, एउटा गम्भीर जिम्मेवारीको भारीका रूपमा लिनुहोस् । इतिहासको ब्याज खाएर राजनीति गर्ने दिन अब सकिएका छन्, अब भविष्यमा गरिने लगानीले मात्र राजनीतिको आयु तय गर्नेछ ।
नेपालको विकासको बाधक नीतिगत भ्रष्टाचार र कर्मचारीतन्त्रमा व्याप्त ढिलासुस्ती नै हो । यसलाई चिर्न ‘डिजिटाइजेसन’ अनिवार्य छ । फाइल ओसार्ने पुरातन शैलीको अन्त्य र प्रविधिको प्रयोगबाट बिचौलियाहरूको राज समाप्त नभएसम्म सुशासनको नारा केवल ओठे भक्तिमा सीमित हुनेछ ।
आजको सबैभन्दा बिझाउने दृश्य भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाहरूको लर्को हो । हाम्रो पुस्ताले नेपालमा भविष्य नदेखेरै खाडी र पश्चिमा मुलुकको बाटो रोजेको हो । त्यसैले, नयाँ सरकारको सफलताको वास्तविक मापन जिडिपीका अङ्कहरूले मात्र होइन, विमानस्थलबाट स्वदेश फर्किने नेपालीहरूको अनुहारको मुस्कानले गर्नेछ ।
हामीले जसरी काँधमा बोकेर नयाँ शक्तिलाई सिंहदरबार पुर्याएका छौं, त्यसरी नै वाचडग बनेर हरेक कदमको निगरानी पनि गर्नेछौं । शक्तिले मानिसलाई भ्रष्ट बनाउन सक्छ भन्ने कुरामा हामी सचेत छौं । त्यसैले, यदि जनताको भावनामाथि लात हान्ने काम भयो भने यो पुस्ताले सडकबाटै खबरदारी गर्न पनि हिचकिचाउने छैन ।
यो परिवर्तनले नेपाललाई नयाँ उचाइमा पुर्याउनेछ भन्नेमा हामी आशावादी छौं । तर नेतृत्व परिवर्तनसँगै कार्यशैली र सोचमा पनि आमूल परिवर्तन आउनु जरुरी छ । हामी युवाहरू देश निर्माणको महाअभियानमा साथ दिन तयार छौं, तर त्यसका लागि नेतृत्वले इमानदारिता र नैतिकताको कसीमा आफूलाई खरो उतार्नैपर्छ ।








