Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणपछि खाडी क्षेत्रको आकाश असुरक्षित बनेसँगै अवरुद्ध भएको नेपाल वायुसेवा निगमको दुबई उडान बुधबार रातिबाट पुनः सुचारु हुने भएको छ । विगत १२ दिनदेखि दुबई र काठमाडौंमा अलपत्र परेका यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन निगमले बुधबार राति ११:१५ बजे वाइडबडी विमानमार्फत विशेष उद्धार उडान भर्न लागेको हो ।

इरानको परमाणु केन्द्र र सैन्य संरचनालाई लक्षित गरी फागुन १६ गते भएको हमलापछि खाडी क्षेत्रको हवाई सुरक्षामा गम्भीर असर परेको थियो । सुरक्षा जोखिमका कारण नियमित उडानहरू प्रभावित भएपछि निगमले ‘युद्ध जोखिम बीमा’को विशेष व्यवस्था गरी यो उडान सञ्चालन गर्न लागेको निगमका महाप्रबन्धक अमृतमान श्रेष्ठले जानकारी दिए ।

निगमको तालिका अनुसार बुधबार राति काठमाडौंबाट उडेको जहाज दुबई पुगेर त्यहाँको स्थानीय समय अनुसार बिहान ४ बजे यात्रु लिएर काठमाडौं फर्कनेछ । यस उडानमा नयाँ टिकट बिक्री नगरिने र पहिले नै टिकट लिएर रोकिएका यात्रुहरूलाई मात्रै प्राथमिकता दिइने निगमको बजार विभागले स्पष्ट पारेको छ ।

मार्केटिङ विभाग प्रमुख अनिल घिमिरेका अनुसार सिटको उपलब्धताका आधारमा ‘पहिले आउनेलाई पहिलो प्राथमिकता’ दिने नीति लिइएको छ । ‘लामो समयदेखि यात्रुहरू रोकिएकाले हामीले पुरानै टिकटवाहकलाई लैजाने तयारी गरेका छौं । टिकट रिसेड्युल गर्दा यात्रुले कुनै थप शुल्क तिर्नु पर्ने छैन,’ घिमिरेले भने ।

यस उडानमा नअटेका बाँकी यात्रुहरूलाई भने आगामी उडानहरूमा क्रमशः व्यवस्थापन गरिने निगमले जनाएको छ । यद्यपि, खाडी क्षेत्रको सुरक्षा अवस्था अझै पनि पूर्ण रूपमा स्थिर भइनसकेकाले उडान तालिकामा फेरबदल हुन सक्ने सम्भावना कायमै छ । सुरक्षा संवेदनशीलताका कारण उडान पुनः रद्द गर्नुपर्ने अवस्था आएमा यात्रुको आवास वा अन्य आर्थिक दायित्व निगमले वहन गर्न नसक्ने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

इरान-इजरायल तनावका कारण दुबई मात्र नभई कतारको दोहा र साउदी अरबको दमाम उडान समेत नराम्ररी प्रभावित भएका छन् । निगमले हालसम्म १३ पटक सूचना प्रकाशित गरी आफ्ना उडानहरू स्थगित गरिसकेको छ । 

तपाईको प्रतिक्रिया