Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – काठमाडौं-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचनको नतिजालाई ‘प्राविधिक विषय’को संज्ञा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डेसँग पराजित भएपछि सामाजिक सञ्जालमार्फत उनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै हारका बाबजुद जनताको माया र विश्वासले आफूलाई थप ऊर्जा मिलेको बताएका हुन् ।

भ्रष्टाचार विरुद्ध र सुशासनको माग गर्दै उठेको जेनजी विद्रोहपछि उदाएको आफ्नो पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदाता र सहयोगीहरूप्रति उनले आभार व्यक्त गरे । उनले यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभएर भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्धको एउटा ठूलो जनआवाज भएको उल्लेख गरेका छन् ।

देशलाई केवल नाराले नभई स्पष्ट दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनले बताए । ‘हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो,’ उनले भने । एउटा पुल बनाउन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने विद्यमान प्रणालीले नै देशको विकास रोकेको उनको तर्क छ ।

आफ्नो कार्यकालमा लोडसेडिङको अन्त्य र नेपाललाई विद्युत आयातकर्ताबाट निर्यातकर्ता बनाउन सकेको सफलता स्मरण गर्दै उनले साहसी निर्णय र दृढ नेतृत्व भए परिवर्तन सम्भव रहेको बताए । उनले ५८ प्रतिशत विद्युतीकरणको अवस्थाबाट ९९ प्रतिशतसम्म पुर्‍याएको, बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, मेलम्ची खानेपानीको पुनः सञ्चालन र तातोपानी नाका खुलाउने जस्ता महत्वपूर्ण कामहरू आफ्नो नेतृत्वमा अघि बढेको उल्लेख गरे ।

विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना दिँदै उनले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गर्न रास्वपा सफल हुने विश्वास व्यक्त गरे । सरकारबाट हुने राम्रा कामको समर्थन गर्ने र गलत काम भएमा आफ्नो पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी जारी राख्ने उनको प्रतिवद्धता छ ।

 

तपाईको प्रतिक्रिया