काठमाडौं – एकीकृत वाम शक्तिका रूपमा निर्वाचनमा होमिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राजधानी काठमाडौँमा नराम्रोसँग पछारिएको छ । काठमाडौँका १० वटा निर्वाचन क्षेत्रको नतिजा अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको यो दल ३.८९ प्रतिशत मतमै खुम्चिएको हो ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार काठमाडौँमा कुल ४ लाख ६३ हजार ३४२ सदर मतमध्ये नेकपाका उम्मेदवारले १८ हजार ३४३ मत मात्र प्राप्त गरे । अधिकांश क्षेत्रमा १० प्रतिशत मत ल्याउन नसक्दा पार्टीका उम्मेदवारहरूको जमानत समेत जफत भएको छ । १० मध्ये ४ वटा निर्वाचन क्षेत्रमा त नेकपाले १ हजार मत पनि कटाउन सकेन । काठमाडौँ १, ३, ४ र ५ मा पार्टीको उपस्थिति अत्यन्तै कमजोर देखियो ।
विगतमा २०६४ सालको निर्वाचनमा काठमाडौँका ४ क्षेत्र जितेको माओवादीको विरासत यसपटक एकीकृत समाजवादी र अन्य साना दल मिलाएर ‘नेकपा’ बनाउँदा पनि फर्कन सकेन । काठमाडौँ ७ र ८ मा मात्र नेकपाले ३ हजार मत पार गरेको छ । धेरैजसो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो हुँदा नेकपा भने कतिपय ठाउँमा सातौँ स्थानसम्म धकेलियो । वामपन्थी शक्तिहरू एकजुट भएर मोर्चाबन्दी गर्दा पनि राजधानीका मतदाताले भने पुरानो शक्तिलाई अस्विकार गर्दै नयाँ विकल्प रोजेको देखिन्छ ।








