काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम तीव्र बनेको छ । शनिबार बिहान साढे ८ बजेसम्मको प्राप्त विवरणअनुसार कुल ३१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार अग्रता कायम गर्दै २२ सिटमा जित हासिल गरेको छ ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार अहिलेसम्म घोषित परिणाममध्ये नेपाली कांग्रेसले ५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २, नेकपा एमालेले १ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा जित दर्ता गरेका छन् ।
रास्वपाको क्लिन स्वीप : काठमाडौं र चितवनमा दबदबा
नयाँ शक्तिका रूपमा उदाएको रास्वपाले काठमाडौंका अधिकांश क्षेत्रसहित देशका २२ निर्वाचन क्षेत्रमा जित निकालेको छ । काठमाडौंका क्षेत्र नं १ मा रन्जु न्यौपाने, क्षेत्र नं २ मा सुनिल केसी, क्षेत्र नं ३ मा राजुनाथ पाण्डे र क्षेत्र नं ४ मा पुकार बम विजयी भएका छन् । यस्तै क्षेत्र नं ५ मा सस्मित पोखरेल, ७ मा गणेश पराजुली, ८ मा विराज भक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदीप विष्टले जित सुनिश्चित गरे ।
चितवन क्षेत्र नं २ बाट रास्वपा सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित भारी मतान्तरले विजयी भएका छन् । यस्तै कोशी प्रदेशको मोरङ ४ मा सन्तोष राजवंशी र मोरङ ६ मा रुविना आचार्य निर्वाचित भए । मधेश प्रदेशको धनुषा ३ मा मनिष झा र महोत्तरी १ मा प्रमोदकुमार महतोले जित निकालेका छन् ।
गण्डकी प्रदेशतर्फ कास्की २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा विना गुरुङ, स्याङ्जा १ मा धनञ्जय रेग्मी र पर्वत १ मा सागर भुसाल विजयी भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देही ४ मा कन्हैया बनिया, बाँके १ मा सुरेशकुमार चौधरी र बाँके ३ मा खगेन्द्र सुनार निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कांग्रेस ५ र नेकपा २ स्थानमा सीमित
नेपाली कांग्रेसले हालसम्म ५ वटा निर्वाचन क्षेत्रमा जित हात पारेको छ । तेह्रथुमबाट सन्तोष सुब्बा, रसुवाबाट मोहन आचार्य, मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङबाट योगेश गौचन थकाली र दैलेख १ बाट बास्ना थापा विजयी भएका छन् । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत ल्याए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २ सिट जितेको छ । रुकुमबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मतसहित विजयी भएका छन् । उनले एमालेका लिलामणि गौतमलाई पराजित गरे । यस्तै कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर जित हासिल गरे ।
एमालेको खाता खुल्यो, म्याग्दीमा स्वतन्त्रको बाजी
नेकपा एमालेले बाँके क्षेत्र नं २ बाट पहिलो जित निकालेको छ । एमालेका मोहम्मद इस्तियाक राई २४ हजार ६२८ मतका साथ विजयी भएका हुन् । उनले रास्वपाका विवेककुमार श्रेष्ठलाई ५ हजार ९४६ मतान्तरले पछि पारे ।
यता म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २२ हजार ८५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत मात्र पाए । विदेशमा रहेका नेपालीलाई मताधिकार र शिक्षा क्षेत्रको सुधारको एजेन्डासहित पुन निर्वाचनमा होमिएका थिए । उनले नीतिगत सुधारका लागि आफ्नो भूमिका रहने बताए । निर्वाचनमा खसेको कुल ४६ हजार २१५ मतमध्ये पुनले स्पष्ट बहुमत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।








